काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडको डडेलधुरा शाखाद्वारा संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत अजयमेरु गाउँपालिकामा अवस्थित श्री सहश्रलिंग उच्च मावि चमडालाई ह्वाइट बोर्ड तथा खानेपानी ट्यांकी हस्तान्तरण गरिएको छ। 

विद्यालयको प्राँगणमा आयोजित एक कार्यक्रमबीच बैंकले विद्यालयमा अध्ययनरत विद्यार्थीको पठनपाठनमा सहजताका लागि ७ थान ह्वाइट बोर्ड तथा पिउने पानीको सहजताका निम्ति १००० लिटर क्षमता भएको १ थान पानी ट्याङ्की हस्तान्तरण गरेको हो।

कार्यक्रममा अजयमेरु गाउँपालिका वडा नं. २ का वडाध्यक्ष शिवराज भट्ट, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिकृष्ण पाल, विद्यालयका प्रधानाध्यापक रनबहादुर ऐर, शिक्षक, विद्यार्थी, राजनितिक दलका प्रतिनिधि, अन्य विभिन्न संघसंस्थाका प्रतिनिधि, स्थानीय, पत्रकार तथा बैंकका कर्मचारीहरुको उपस्थिति थियो।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक ऐरले विगतदेखि नै बैंकले सामाजिक तथा आर्थिक रुपान्तरणमा विभिन्न कार्यक्रमहरु गरी उदाहरणीय कार्य गर्दै आएकोमा महालक्ष्मी विकास बैंकलाई धन्यवाद दिए। 

आगामी दिनमा पनि सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सामाजिक र आर्थिक रुपान्तरणका विभिन्न कार्यक्रम निरन्तर रुपमा सञ्चालन गर्ने डडेल्धुरा शाखाका प्रबन्धक प्रकाश खड्काले जानकारी दिए।