काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडले काठमाण्डौको महाराजगन्ज र नक्साल (भाटभटेनी) क्षेत्रमा क्यूआर कोड वितरण गरेको छ।

नगदरहित कारोबार गर्दै डिजिटल बैंकिङलाई प्रोत्साहन गर्ने उद्देश्यले बैंकले आज महाराजगन्ज र भाटभटेनी शाखाको अगुवाइमा ती क्षेत्रमा रहेका फलफूल पसल, कपडा पसल, खाजा घर, खुद्रा पसल, होटेल तथा रेस्टुरेन्टलगायतका विभिन्न पसलहरुमा बृहत रुपमा क्यूआर कोड वितरण गरेको हो। क्यूआर कोडको प्रयोगबाट नगद कारोबारको जोखिमलाई न्यूनीकरण गरी सुरक्षित रुपमा डिजिटल बैंकिङ कारोबार गर्न ग्राहकलाई विशेष सहयोग पुग्ने विश्वास बैंकले लिएको छ। 

बैंकले ग्राहकको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवाका साथै साना तथा कर्पोरट व्यवसायीहरुमाझ वित्तीय पहुँच पुर्याउने लक्ष्य राख्नुका साथै सुविधाजनक बचत खाता योजना, मुद्दति निक्षेप योजना, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जालगायतका वित्तीय सेवाहरु छिटो, छरितो, चुस्त र दुरुस्त रुपमा ग्राहकलाई प्रदान गर्दै आइरहेको छ।

बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बागमती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा २ र सुदूरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखामार्फत करिब ६ लाख ग्राहकलाई उच्चस्तरीय वित्तीय सेवाहरु सरलीकृत तवरले प्रदान गर्दै आइरहेको छ।