काठमाण्डौ । महालक्ष्मी  विकास बैंक लिमिटेडले ‘महालक्ष्मी कर्पोरेट क्रिकेट लिग’ आयोजना गर्ने भएको छ। 

जेठलाई वार्षिकोत्सव महिनाका रुपमा मनाउन लागेको बैंकले आफ्नो २८ औँ वार्षिकोत्सवको अवसर पारेर क्रिकेट लिग आयोजना गरेको हो। यही जेठ १३ देखि १५ गते (तीन दिन) सम्म इमाडोलस्थित बलपार्क इन्डोर क्रिकेटमा आयोजना हुने प्रतियोगितामा विभिन्न बैंक तथा वित्तीय संस्थाका १६ टोलीले सहभागिता जनाउने छन्। 

बुधबार आयोजित पत्रकार सम्मेलनमा आयोजक महालक्ष्मी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले प्रतियोगिताको विजेता ट्रफी र आयोजक समितिका संयोजक तथा बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत दिपेश लम्सालले जर्सी सार्वजनिक गरेका थिए। क्रिकेट लिगका प्राविधिक निर्देशक रविन्द्र गुप्ताले लिगका नियमहरुका बारेमा प्रकाश पारेका थिए। 

बैंकका प्रमुख कार्यकारी अधिकृत देवकोटाले यो क्रिकेट लिगले बैंक तथा वित्तीय संस्थाहरुबीच भाइचारा, आत्मीयता, सद्भाव, मित्रता बढाउन थप सहयोग पुग्ने बताए। 

लिग कम नक आउट फर्म्याटमा आयोजना हुने प्रतियोगितामा कुल ३२ वटा खेल खेलिनेछन्। सहभागी १६ टोलीलाई ४ वटा समूहमा विभाजन गरिनेछ। जसबाट समूहको उत्कृष्ट हुने दुई समूह क्वार्टरफाइनल प्रवेश गर्नेछन्। 

खेल १० ओभर प्रतिइनिंग्सको हुनेछ। 

प्रतियोगितामा सिटिजन्स बैंक, माछापुच्छ्रे बैंक, गरिमा विकास बैंक, महालक्ष्मी विकास बैंक, हिमालयन बैंक, मुक्तिनाथ विकास बैंक, आईसीएफसी फाइनान्स, मेगा बैंक, ज्योति विकास बैंक, प्राइम बैंक, सानिमा बैंक, कुमारी बैंक, कामना सेवा विकास बैंक, सनराइज बैंक, लुम्बिनी विकास बैंक र सांग्रिला विकास बैंकको सहभागिता रहेको छ।

प्रतियोगिताको विजेता, उपविजेता टिम, रनर अप, म्यान अफ द सिरिज, बेस्ट बलर र ब्याट्सम्यान, बेस्ट फिल्डरलगायत विभिन्न विधाका उत्कृस्ट खेलाडीहरुलाई विशेष पुरस्कार प्रदान गरिनेछ। प्रतियोगिताको सम्पूर्ण खेलको प्रसारण बैंकको आधिकारिक फेसबुक पेज तथा युट्युब च्यानल र विकेट नेपालमार्फत हुनेछ।