काठमाण्डौ । महालक्ष्मी  विकास बैंक लिमिटेडले महालक्ष्मी कर्पोरेट क्रिकेट लिगका विजेताहरुलाई पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ। 

जेठलाई वार्षिकोत्सव महिनाका रुपमा मनाउन लागेको महालक्ष्मी विकास बैंकले आफ्नो २८ औँ वार्षिकोत्सवको अवसर पारेर उक्त क्रिकेट लिग आयोजना गरेको थियो। यही जेठ १३ देखि १५ गते (तीन दिन) सम्म इमाडो स्थित बलपार्क इन्डोर क्रिकेटमा सम्पन्न प्रतियोगिताको उपधि आईसीएफसी फाइनान्स लिमिटेडले जित्न सफल भएको छ। 

प्राइम बैंकले द्वितीय र कामना सेवा विकास बैंकले तृतीय स्थान हासिल गर्न सफल भएका छन्। 

नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर बमबहादुर मिश्र, महालक्ष्मी  विकास बैंकका अध्यक्ष राजेश उपाध्याय र प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले संयुक्त रुपमा ट्रफी, मेडल तथा प्रमाणपत्रहरु प्रदान गरेका थिए। 

प्रतियोगितामा विभिन्न बैंक तथा वित्तीय संस्थाका १६ टोलिले सहभागिता जनाएका थिए। 

डेपुटी गर्भनर मिश्रको प्रमुख आतिथ्यतामा सोमबार काठमाडौंमा आयोजित कर्यक्रममा विजेता आईसीएफसी फाइनान्स, द्वितीय प्राइम बैंक, तृतीय कामना सेवा विकास बैंक, उत्कृष्ट फिल्डर आईसीएफसी फाइनान्सका सुरज तिमिल्सिना, उत्कृष्ट विकेट–किपर मुक्तिनाथ विकास बैंकका मनिष सिंह, उत्कृष्ट बलर महालक्ष्मी विकास बैंकका सागर गुप्ता, उत्कृष्ट ब्याट्सम्यान कामना सेवा विकास बैंकका हेमन्तकुमार श्रीवास्ताव, उत्कृष्ट खेलाडी प्राइम बैंकका कृतार्थ शाक्यलगायत ३२ खेलमा उत्कृष्ट खेल प्रर्दशन गर्ने खेलाडीहरुलाई म्यान अफ दि म्याचको ट्रफी तथा प्रमाणपत्र प्रदान गरिएको छ।

कार्यक्रममा डेपुटी गर्भनर मिश्रले यस क्रिकेट लिग लगायत अन्य सामुहिक खेलले बैंक तथा वित्तीय संस्थाहरुबीच भाइचारा, आत्मियता, सद्भाव, मित्रता बढाउन थप सहयोग पुग्नुका साथै कर्मचारीहरुलाई बैंकिङ गतिविधिमा मात्रै सीमित नराखि उनीहरुलाई मनोञ्जन प्रदान गर्न र उत्पादनशीलतामा वृद्धि गर्न मद्दत पुग्ने बताए। 

कार्यक्रममा महालक्ष्मी  विकास बैंकका अध्यक्ष उपाध्यायले खेलमा हार र जित स्वभाविक प्रक्रिया रहेको र यस्ता खेलहरुले कर्मचारीहरुमा समूह निर्माण गर्न, समूहमा नेतृत्वदायी भूमिका निर्वाह गर्न, कार्यकुशलतामा अभिवृद्धि गर्न मद्दत पुर्याउने हुँदा समय–समयमा यस्ता गतिविधि सञ्चालन गर्नु जरुरी रहेको बताए।