काठमाण्डौ । “सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २८ वर्षदेखि अनवरत रुपले गुणस्तरिय वित्तीय सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंक लिमिटेडको भक्तपुर शाखाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत चाँगुनारायण नगरपालिका वडा नं ६ नगरकोट, बेसीटोलस्थित रहेको चेतना आधारभूत विद्यालयमा बालमैत्री खानेपानीको धारा निर्माण गरी विद्यालयलाई हस्तान्तरण गरेको छ। 

विद्यालयमा आयोजित एक समारोहबीच झक्तपुर शाखाकी शाखा प्रबन्धक अनु श्रेष्ठले उक्त बालमैत्री धारा विद्यालयलाई हस्तान्तरण गरेकी हुन्। यस प्रकारको सहयोगले उक्त विद्यालयमा रहेका बालबालिकाहरुलाई स्वस्थ पिउने पानी उपलब्ध हुनुका साथै उनीहरुको सरसफाईमा सहयोग पुग्ने विश्वास बैंकले लिएको छ। 

आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सामाजिक, आर्थिक रुपान्तरणका विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने कुरा बैंकले जनाएको छ।

बैंकले प्रदेश नं १ मा ५, मधेस प्रदेश नं २ मा १५, बागमती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णली प्रदेशमा २ र सुदूरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखामार्फत करिब ६ लाख् ग्राहकलाई उच्चस्तरीय वित्तीय सेवाहरु सरलीकृत तवरले प्रदान गर्दै आइरहेको छ।