काठमाण्डौ । “सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २८ वर्षदेखि अनवरत रुपले सरल, सहज र गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आइरहेको महालक्ष्मी विकास बैंकले आफ्नै सुविधा सम्पन्न भवनबाट सेवा सञ्चालन गर्ने ध्येयका साथ केन्द्रीय कार्यालयका लागि काठमाण्डौ जिल्लामा अवस्थित चक्रपथसँग जोडिएको वा चक्रपथ भित्रको घर वा जग्गा खरिद गर्ने भएको छ। 

आफ्ना ग्राहकलाई सुविधा सम्पन्न भवनबाट बैंकिङ सेवा प्रवाह गर्ने अभिप्रायका साथ बैंकले महाराजगन्ज, बालुवाटार, लाजिम्पाट, नक्साल, कमलपोखरी, विशालनगर, अनामनगर, दरबारमार्ग, कान्तिपथ, पुतलीसडक, कमलादी, नागपोखरी, गैह्रिधारा, ज्ञानेश्वर, नयाँबानेश्वर लगायतका क्षेत्रमा घर वा जग्गा खरिदका निमित्त बैंकले बोलपत्रसमेत अह्वान गरिसकेको छ। जग्गा कम्तीमा २ रोपनीदेखि ४ रोपनीसम्म फैलिएको र घर कम्तीमा ३० हजार वर्गफिट क्षेत्रफल रहेको र पर्याप्त पार्किङ सुविधा भएको हुनुपर्ने बैंकले जनाएको छ। 

बैंकले प्रदेश नं. १ मा ५, मधेस प्रदेशमा १५, बागमती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णली प्रदेशमा २ र सुदूरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखामार्फत करिब ६ लाख ग्राहकलाई उच्चस्तरीय वित्तीय सेवाहरु सरलीकृत तवरले प्रदान गर्दै आइरहेको छ। 

बैंकले ग्राहकको वैदेशिक यात्राका क्रममा कारोबार थप सुरक्षित, सहज र भरपर्दो होस भन्ने उद्देश्यले भिसा ईएमभी चिप्स बेस्ड ट्राभल कार्ड, ई–कमर्स कार्ड र डलर कार्ड जारी गरिसकेको छ। समग्रमा चिप बेस्ड ट्राभल कार्ड, ई–कमर्स कार्ड र डलर कार्ड जारी गर्ने अग्रणी तथा एकमात्र विकास बैंकमा महालक्ष्मी रहेको छ।