काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघको आगामी निर्वाचनमा जिल्ला नगर तर्फका प्रत्यासी दिनेश श्रेष्ठले साना तथा मझौला व्यवसायीका समस्या समाधान गर्न आफूले उम्मेदवारी दिएको बताएका छन्। 

महासंघको सबैभन्दा महत्वपूर्ण कार्यक्षेत्र भनेको जिल्ला नगर उद्योग वाणिज्य संघ रहेको भन्दै श्रेष्ठले यही ठाउँबाट सशक्त अभियान सञ्चालन गर्नका लागि जिल्ला नगर तर्फको उपाध्यक्षमा दाबेदारी दिएको बताएका हुन्। ‘यो क्षेत्रको नेतृव गर्नु भनेको समग्र निजी क्षेत्रको नेतृव गरे सरह हो भन्ने विश्वासका साथ मैले नेपाल उद्योग वाणिज्य महासंघको जिल्ला नगरतर्फको उपाध्यक्षमा उम्मेदवारी दिएको हुँ’, उनले भने। 

हाल महासंघको जिल्ला नगरतर्फको उपाध्यक्ष रहेका श्रेष्ठले फेरि यथावत स्थानमै उम्मेदवारी किन भन्ने सबैको जिज्ञासा आफ्नो लागि संवेदनशिल विषय बनेको पनि बताए। ‘देशको अर्थतन्त्र र निजी क्षेत्र नाजुक हुँदै गएको वर्तमान अवस्थामा समकालीन चेम्बर अभियन्ताहरु  जुटेर जानुपर्नेमा जोड दिए पनि त्यसले सार्थकता पाएन। नयाँ नेतृव चयनका लागि  सहमतिको प्रयास गर्दै गर्दा सहमति हुन नसक्नु दुःखलाग्दो विषय हो’, श्रेष्ठले भने, ‘सहकार्य र सहमतिको बाटो लिने निर्णय गरिसक्दा पनि पूर्ण रुपमा सहमति नजुटेको अवस्थामा मेरोलागि पदभन्दा पनि  वर्तमान अवस्थामा नाजुक बन्दै गएको निजी क्षेत्रको उत्थानका निम्ति पहल पैरवी गर्न एउटा सशक्त फोरम महत्वपूर्ण छ। तसर्थ उक्त सशक्त फोरम भनेको महासंघको जिल्ला नगर उद्योग वाणिज्य संघ समुहको नेतृव पंक्ति हो भन्ने विश्वासका साथ यथास्थानमा नै आफुलाई उभ्याउने  प्रयास गरेको छु।’

सबैजना नेतृत्वका लागि एकैपटक निर्वाचनमा जाँदा आगामी कार्यकालमा सबल नेतृत्वको अभाव हुन सक्ने कुरालाई पनि आफूले ध्यानमा राखेर साथीहरुसँगको सल्लाहमा जिल्ला नगर उपाध्यक्षमा उम्मेदवारी दिएको श्रेष्ठले बताए। 

देशका सम्पूर्ण निजी क्षेत्रको धरोहरका रुपमा रहेको महासंघलाई नयाँ दिशातर्फ अघि लैजान आफूले उम्मेदवारी दिएको बताउने श्रेष्ठले सदस्यहरुलाई मजबुत रुपमा संगठित गरी नयाँ जोश र सक्रियतातर्फ लम्काउन जरुरी रहेको बताए। सबै सदस्यहरुले पाउने सेवाहरु सूचारु रुपले प्रदान गर्न, सबै वर्गका सदस्यहरुले महासंघले आफूहरुप्रति सम्मान व्यवहार गरेको महसुस गराउन, कुनै व्यक्ति, वर्गवाद वा समूहको स्वार्थ पूर्तिको माध्यम बन्ने अवस्था आउन नदिन आफूले जिल्ला नगर उपाध्यक्षमा उम्मेदवारी दिएको श्रेष्ठले बताए। 

जिल्ला नगर उद्योग वाणिज्य संघहरुको भूमिकालाई सक्रिय बनाउनुपर्नेमा जोड दिएका श्रेष्ठले हरेक जिल्ला तथा नगरका उद्योगी–व्यवसायीसँग भएको निरन्तरको भेटघाट तथा छलफलले महासंघमा यथास्थानमा उम्मेदवारी दिएको बताए। ‘विगत ६–७ वर्षदेखि जिल्ला तथा नगरसँग प्रत्यक्ष रुपमा संलग्न हुने अवसर पाएँ। जिल्ला नगरका साथीहरुले परिपक्क निर्णय गर्दै स्थानीय उद्योग व्यवसायलाई बुझेर नेतृत्वमा आउन दिएको आदेशले नै मैले उम्मेदवारी दिएको हो’, श्रेष्ठले भने, ‘जिल्ला नगरमा रहेका उद्योग वाणिज्य संघले उद्योगी व्यवसायीलाई सिमित सेवा दिन सकिरहेको अवस्था छ। त्यहाँका साना ठूला समस्याहरु सरकार समक्ष पुर्याई समाधान गर्न सक्षम केन्द्रीय नेतृत्व हुनु जरुरी भएको साथीहरुको आग्रहलाई शिरोधार्य गर्दै उम्मेदवारी दिएको हुँ।’

जिल्ला नगरका उद्योगी–व्यवसायीका समस्या तथा जिल्ला नगर उद्योग वाणिज्य संघको सशक्तीकरणमा जोड दिँदै श्रेष्ठले महासंघमा आफूले धेरै काम गर्न बाँकी रहेको बताए। कुनै पनि कम्पनी दर्ताका लागि संघले दिने सिफारिसदेखि आम्दानी सुनिश्चितताका साथै उत्पत्तिको प्रमाणपत्रको पैसा जिल्लाहरुले नपाउने समस्याका विषयमा आवाज उठाउने उनले प्रतिबद्धता उनले जनाएका छन्। 

सरकारी संयन्त्रका कर्मचारीले उद्योगीव्यवसायीहरुलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्नुपर्नेमा जोड दिएका श्रेष्ठले ऐन कानुन उद्योगी–व्यवसायीलाई नियन्त्रण गर्ने किसिमको हुने गरेको भन्दै त्यसमा सहजीकरण गर्न पनि पहल गर्ने बताए। 

छुट्टै चेम्बर ऐन, क्रेडिट ऐन, व्यवसायीको लगानी सुरक्षित हुने गरी सुरक्षित कारोबार ऐन जरुरी रहेको उनको भनाइ छ। ‘अहिले कारोबार ऐन छ तर, त्यसका केही प्रावधानहरु गलत छन्। राज्य संयन्त्रका कर्मचारीले हामी प्रति देखाउने ब्यवहार गलत छ। यसकारणले पनि व्यवसायीहरुले नचाहेर पनि गलत बाटो अपनाएर व्यवसाय गर्नुपर्ने अवस्था छ। यसको अन्त्य हुनुपर्छ’, श्रेष्ठले भने।

करका दरहरु धेरै हुँदा चोरी पैठारी बढिरहेको श्रेष्ठको बुझाइ छ। कोरोनाकालपछि चोरी पैठारी दिनदिनै बढिरहेको सन्दर्भमा विभिन्न उपकरणका माध्यमबाट चोरी पैठारी रोक्नुपर्ने उनी बताउँछन्। ‘अहिले जुन किसिमले चोरी पैठारी बढिरहेको छ, त्यसले उद्योगी–व्यवसायी समस्यामा पर्ने मात्र नभई राज्यले समेत ठूलो मात्रामा राजश्व गुमाइरहेको छ। यसलाई नियन्त्रण गर्न महासंघ नेतृत्वले पनि पहल गर्नुपर्छ’, श्रेष्ठले भने।

करसँगै भन्सार, रोजगार तथा बैंकका सम्बन्धमा धेरै समस्याहरु रहेको भन्दै श्रेष्ठले यस्ता समस्याहरुलाई समाधान गर्नका लागि महासंघमा आफुले पहल गर्ने बताए। समग्र अर्थतन्त्रलाई चलायमान बनाउन जिल्ला नगरमा सञ्चालित उद्योग व्यवसायको ठूलो योगदान रहेको बताउने श्रेष्ठ उनीहरुको राय र सुझाव लिएर महासंघ अघि बढ्नुपर्नेमा जोड दिन्छन्। यसका लागि अहिलेको कार्यकालमा आफुले धेरै प्रयासहरु गरेको र आगामी दिनमा झनै तीव्र रुपमा लबिङ गर्ने उनले बताए।

सवल, सक्षम र समृद्ध जिल्ला नगर उद्योग वाणिज्य संघको निर्माण गर्ने प्रतिबद्धता पनि श्रेष्ठले जाहेर गरेका छन्।