काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षका प्रत्याशी उमेशलाल श्रेष्ठले महासंघ नेतृत्वले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर समग्र उद्योगी व्यवसायीको हितमा काम गर्नुपर्ने बताएका छन्।
‘अहिले ठूला व्यापारीहरु महासंघ नेतृत्वमा पुगेर समग्र उद्योगी–व्यवसायीको समस्या समाधानभन्दा पनि आफ्ना व्यक्तिगत स्वार्थमा केन्द्रित हुन थाले, जसका कारण जिल्ला नगर र वस्तुगत संघहरुका समस्याहरु राज्यले सुन्न छाडे’, नेपाल औषधि उत्पादक संघले आयोजना गरेका छलफल कार्यक्रममा उनले भने, ‘सबै व्यवसायीको समस्या सुनेर सरकारसमक्ष पुर्याएर समाधान गर्नकै लागि मजस्तो भुइँमान्छेले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएर महासंघको नेतृत्व लिन अघि बढेको छु।’
यसैगरी अहिले उद्योगी–व्यवसायीका साथै देशको अर्थतन्त्र नै समस्यामा परेको भन्दै श्रेष्ठले यस्तो अवस्थामा महासंघलाई आफूजस्तो नेतृत्वको खाँचो भएको उल्लेख गरे। ‘म ३ दशकदेखि महासंघमा आवद्ध छु भने यसअघि बस्तुगततर्फको उपाध्यक्षमा चुनाव हारेँ पनि’, उनले भने, ‘उक्त हारपछि महासंघमा नआउन पनि खोजेको थिए तर अहिलेको विषय परिस्थितिमा समस्या समाधान गर्नकै निमित्त साथीहरुको सल्लाह र सुझावमा वरिष्ठ उम्मेदवारी दिएर नेतृत्व लिन अघि बढेको छु।’
नेपालको अर्थतन्त्र उकास्नको लागि आफु एक सक्षम व्यक्ति भएको र सोहीअनुरुप तुफान आएको अवस्थामा जहाजको कप्तानी लिन अघि बढेको श्रेष्ठको तर्क थियो।
यसैगरी राजनीतिक पार्टीहरुल सुखी र समृद्ध नेपालको परिकल्पना गरे पनि व्यवहारमा भने फरक रहेको श्रेष्ठको भनाइ थियो। ‘अहिले सरकार र नेताहरु राष्ट्रिय पुँजी निर्माण गर्नु पर्याे भनिरहेका छन तर कसरी गर्ने भन्ने कुनै ठोस योजना छैन’, उनले भने, ‘सरकारले राजस्व उठाउन नाममा आयातलाई प्राथमिकता दिइरहेको छ तर देशभित्र उद्योगीकरण नगरेसम्म राष्ट्रिय पुँजी निर्माण हुन सक्दैन।’
यसैगरी सरकारले कागजका आधारमा कृषि कर्जा दिँदा अहिले समस्या उत्पन्न भएको समेत श्रेष्ठको भनाइ थियो। ‘सरकारले कृषि उत्पादनमा अनुदान दिन पर्दथ्यो तर कागजलाई अनुदान दियो’, उनले भने, ‘राष्ट्र बैंकको तथ्यांकअनुसार कृषिमा ७ खर्ब रुपैयाँ कर्जा प्रबाह भइसकेको छ तर त्यसको उत्पादकत्व खोइ ?’
अहिले उद्योगी–व्यवसायी चर्को ब्याजको मारमा परेको भन्दै सरकारले राष्ट्र बैंकमार्फत १ प्रतिशतमा बैंकहरुलाई २ खर्ब रुपैयाँ कर्जा दिएर ब्याजदर घटाउनुपर्ने बताए। यस्तै अव्यवहारिक ऐन नियम र सरकारी कार्यशैलीले गर्दा नेपालमा औषधि उद्योग फस्टाउन नसकेको भन्दै त्यसका लागि निजी क्षेत्रले सरकारसँग दरोरुपमा लबिङ गर्नुपर्ने बताए। ‘हामीबीचको अस्वस्थ्य प्रतिस्पर्धा तथा कोरोना र आर्थिक मन्दीपछि नेपालका औषधि उद्योग समस्यामा छन्’, उनले भने, ‘खुला सिमानाका कारणले पनि नेपाली औषधि उद्योगहरु समस्यमा छन् यसलाई सरकारले तुरुन्त रोक्नुपर्छ।’
यसका साथै देशलाई औषधिमा आत्मनिर्भर बनाउन रिसर्च एन्ड डेभलपमेन्टमा लगानी बढाउनुपर्नेसमेत उनको भनाइ छ।
15 hours ago
15 hours ago
16 hours ago
16 hours ago
16 hours ago
17 hours ago
18 hours ago
18 hours ago
18 hours ago
19 hours ago