काठमाण्डौ । आज महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बाँडफाँड भयो। भाग्यमानी ३७ हजार ५०० आवेदकले १० कित्ताका दरले सेयर पाए भने झन्डै १५ लाख आवेदकको हात खालि भयो।

यो आईपीओमा हालसम्मकै धेरै आवेदन परेको थियो। जसका कारण हात खालि हुने आवेदकको संख्या पनि अधिक देखियो। तर यति ठूलो संख्या संख्यामा आवेदकका हात खालि हुँदा पनि यस्ता १५३ जना पनि छन्, जसले ३२.६७ कित्ताका दरले सेयर पाएका छन्। 

यी भाग्यमानी हुन् महिला लघुवित्तका कर्मचारी। महिला लघुवित्तमा हाल १५३ जना कर्मचारी कार्यरत छन्। 

धितोपत्र बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङका अनुसार महिला लघुवित्तले गत माघ ३० गतेबाट १०० रुपैयाँ अंकित दरका कुल ४ करोड रुपैयाँबराबरको आईपीओ निष्कासन गरेको थियो। कुल ४ लाख कित्तामध्ये ५ हजार कित्ता कर्मचारी सुरक्षित गरी २० हजार कित्ता समूहिक लगानी कोषहरुका लागि बाँडफाँड गरिसकेको सकिएको छ। बाँकी ३ लाख ७५ हजार कित्तामा सर्वसाधारणले आवेदन दिएका थिए। 

सोहीअनुसार कर्मचारी छुट्याइएको ५ हजार कित्तालाई १५३ जना कर्मचारीलाई समान रुपले वितरण गर्दा एकजनाको भागमा ३२.६७ कित्ता परेको हो।यो आईपीओमा कुल १५ लाख ४० हजार ३५ आवेदकबाट २ करोड ३७ लाख ४७ हजार ५९० कित्ता माग भएको थियो। जसमध्ये १५ लाख ३६ हजार ६८२ आवेदकबाट २ करोड ३६ लाख ९२ हजार ६३० कित्ता मागमात्रै सदर भएको थियो। बाँकी ३ हजार ३५३ आवेदकबाट ५४ हजार ९६० कित्ता भएको माग भने बदर भएको थियो। 

यो हिसाबले १४ लाख ९८ हजार ८८२ आवेदकको हात खाली भएको छ।