काठमाण्डौ । नेपाल उद्योग परिसंघले आगामी चैत ११ र १२ गते आयोजना गर्न लागेको वुमन्स लिडरसिप समिट २३ (महिला नेतृत्व शिखर सम्मेलन) को तयारी पूरा भएको छ। 

परिसंघ महिला नेतृत्व मञ्चको संयोजनमा काठमाण्डौमा हुन लागेको दुईदिने अन्तर्राष्ट्रिय सम्मेलनको तयारीबारे सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो।

कोभिड १९ महामारीपछि महिला नेतृत्वका तीनवटा प्रमुख क्षेत्रमा केन्द्रित रहेर सम्मेलन आयोजना गर्न लागिएको हो। कोभिड १९ का कारण महिलामा परेको असर, त्यसका विषयमा छलफल र समाधान खोज्ने उद्देश्य सम्मेलनको रहेको परिसंघका उपाध्यक्ष निर्वाण चौधरीले बताए। 

सम्मेलनमा लैंगिक समानताका विषयसहित महिला नेतृत्वहरुबीच विचार आदानप्रदान गर्ने, साझा रणनीति बनाउने, महिलाहरुका सफलता सुनाउने, महिलाहरुलाई प्रोत्साहित गर्ने र एकअर्काबाट सिक्ने अवसर प्राप्त हुने चौधरीले बताए। 

नेतृत्वमा महिला, अर्थतन्त्रमा महिलाको योगदान, र परिवर्तनका संवाहक महिला विषयमा छुट्टा छुट्टै सत्रमा छलफल हुने परिसंघ महिला उद्यमी मञ्च सभापति छाया शर्माले बताइन्। उनले विभिन्न सत्रमा नेपालसहित भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, भुटान, माल्दिस, जर्मनीलगायत मुलुकका राजनीति, आर्थिक, सामाजिक, वातावरणलगायतका क्षेत्रमा स्थापित, रुपान्तरणकारी एवं प्रभावशाली व्यक्तित्वहरको सहभागिता सुनिश्चित भइसकेको जानकारी गराइन्।

सम्मेलनमा सामाजिक र सूचना प्रविधि क्षेत्रमा उच्च योगदान पुर्याएका दुईजना महिलालाई सम्मान गरिनेछ। यसका साथै उद्यमशीलता प्रवर्द्धनका लागि महिला उद्यमीहरुबाट उत्पादित स्वदेशी वस्तुहरुको प्रदर्शनीसमेत गरिनेछ।   

दुईदिने महिला नेतृत्व शिखर सम्मेलनको निष्कर्ष एवं सुझाव नेपाल सरकारलाई हस्तान्तरण गरिनेछ।