काठमाण्डौ । महुली लघुवित्त र नवकिरण लघुवित्त वित्तीय संस्थाले आपसमा मर्जरमा जाने सम्झौता भएको छ ।

सम्झौतापत्रमा महुली लघुवित्तका अध्यक्ष प्रभुनारायण चौधरी र नवकिरण लघुवित्तका मोहनहरि आचार्यले हस्ताक्षर गरेका हुन् । मर्जर प्रक्रिया टुंगोमा पुर्याउन दुवै संस्थाले भानुभक्त निरौलाको संयोजकत्वमा संयुक्त मर्जर समितिसमेत बनाएका छन् । संयुक्त मर्जर समितिको सचिवालय महुली लघुवित्तको केन्द्रीय कार्यालयमा रहने सहमति भएको छ ।

सम्झौतपत्रमा दुवै लघुवित्त आपसमा गाभिएपछि बन्ने संस्थाको नाम महुली लघुवित्त वित्तीय संस्था राखिने र केन्द्रीय कार्यालय हाल महुलीको केन्द्रीय कार्यालय रहेको सप्तरीको अग्निसाइर कृष्णसवरण गाउँपालिकाको महुलीमै रहने उल्लेख छ ।

त्यस्तै मर्जरपछि हाल नवकिरण लघुवित्तको केन्द्रीय कार्यालय रहेको काभ्रेको धुलिखेलस्थित कार्यालयलाई भने बागमती प्रदेश कार्यालय बनाइने सहमति भएको छ।

मर्जर प्रक्रिया आउँदो वैशाखभित्र पूरा गरिसक्ने सहमति दुवै संस्थाले गरेका छन् । मर्जरपछि दुवै संस्थाका कर्मचारीको व्यवस्थापनको हकमा हाल खाईपाई आएको तलबभत्ता नघट्ने गरी क्षमता र योग्यताका आधारमा समान पद वा पद कम गरी समायोजन गर्ने सम्झौतापत्रमा उल्लेख छ ।

मर्जरका लागि डीडीए तयार गरिने र संयुक्त मर्जर समितिले सेयर स्वाप अनुपात १००ः९५ कायम गर्ने सहमति पनि भएको छ । यसको अर्थ नवकिरण लघुवित्तको १०० कित्ता सेयर रहेकाहरुले मर्जरपछि बन्ने महुली लघुवित्तको ९५ कित्ता सेयर पाउनेछन् ।

नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजतपत्र वित्तीय संस्था महुली लघुवित्तका १५ जिल्ला र नवकिरण भने राष्ट्रस्तरको कार्यक्षेत्र बनाई सेवा प्रवाह गरिरहेको छ ।