काठमाण्डौ । सबै तयारी पूरा गरी पूज्नलाई ठीक्क परेर बसेकी चेली एकैछिनअघि मात्र माइती आउन नसक्ने खबर थाहा पाउँदा कत्ति दुःख लाग्दो हो ? यस्तो अवस्था यो पटकको तिहारमा चेलीको टीका थाप्न जाने तयारी गरेका वा माइतीलाई पूज्ने सबै तयारी पूरा गरेका जुनसुकै नेपाली चेलीलाई पर्नसक्छ । किनभने यो कोरोनाकाल हो । कोरोनाकै कारण धेरै चेली-माइतीबीच मिलन नहुन सक्छ । यदि यस्तै अवस्था तपाईले भोग्नुपर्यो भने के गर्नुहुन्छ ? नवील बैंकको सन्देश छ, जहाँ छौं त्यही बसेर  सुरक्षित ढंगले भाइटीका लगाउन सकिन्छ, रमाइलो गर्न सकिन्छ, पर्व मनाउन सकिन्छ । 

नवील बैंकले यसपटकको तिहारको अवसर पारेर एक सन्देशमूलक भिडियो सार्वजनिक गर्दै देशबासीलाई निकै राम्रो ढंगले ठूला चाँडपर्वमा कोरोना प्रभाव कस्तोसम्म परेको छ र यस्तो प्रतिकूल अवस्थालाई चिर्दै हामी कसरी सुरक्षित ढंगले खुशी हुने भन्ने निकै उपयोगी सन्देश प्रवाह गरेको छ । 

कुल ३ मिनेट ८ सेकेण्डको सन्देशमूलक भिडियोको सुरुवात माइतीलाई कुरेर बसेकी चेलीले गरेको भाइटीकाको तयारीबाट सुरु हुन्छ । आफ्ना दाई टीका थाप्न आउलान् भनेर बहिनीले उत्साहित भएर गरिरहेको तयारीसँगै सुरु हुने भिडियोमा जब ती चेलीको घरको ढोकाको घण्टी बज्छ, त्यसपछि कथामा ट्वीस्ट आउँछ । आफ्ना दाई आएको ठानेर सानी छोरीलाई ढोका खोल्न पठाएकी चेलीले केहीबेरपछि दाई नभएर दाईले पठाएको गिफ्ट प्याक पाउँछिन् । त्यसको क्षणभरमै दाईबाट भिडियो कल आउँछ र दाईले आफ्नो नजिकको एक साथीलाई कोभिड १९ संक्रमण पुष्टि भएको र आफू पनि कन्ट्याक्ट ट्रेसिङमा परेका कारण नआएको जवाफ दिन्छन् । ‘तिमीहरुको माया लागेर म यस्तो अवस्थामा नआउने निर्णयमा पुगेँ’ भन्ने दाईको जवाफले आफूलाई कोरोना लाग्यो वा शंका लाग्यो भने पनि कसरी आफन्त वा प्रियजनलाई बचाउन सकिन्छ, भावना नबहकी कसरी सुरक्षित ढंगले चाडपर्व मनाउन सकिन्छ भन्ने निकै राम्रो सन्देश दिएको देखिन्छ । 

दाई भौतिक रुपमा उपस्थित हुन नसक्ने खबर सुनेकी बहिनी रुन थाल्छिन्, तर दाईले सम्झाउँछन् र डिजीटल माध्यमबाट नै आफूलाई टिका लगाइदिन आग्रह गर्छन् । लाइभ भिडियो च्याटबाटै बहिनीले पनि दाईको पूजा गर्छिन् र मोवाइलको स्क्रीनमा लाइभ देखिएका दाईको निधारमा टीका लगाइदिन्छिन् । 

टीका लगाइसकेपछि दाईले आफूले पठाएको गिफ्ट प्याक खोलेर हेर्न भन्छन् र हेर्दा बहिनीले सानोको दाजुबहिनीको फोटो फ्रेम गरेर पठाएको पाउँछिन र माहौल एकछिन निकै भावुक मोडमा पुग्छ । त्यसपछि दाईले बहिनीलाई दिने दक्षिणा फोटोमा नआउने भन्दै डिजीटल माध्यमबाट दक्षिणा दिन सकिन्छ भन्ने उदाहरण पेश गर्छन् । यसरी प्रतिकूल परिस्थितिमा पनि माइती चेलीले कसरी भाइटीका(पर्व)लाई मनाउन सक्छन् वा मनाउनु पर्छ भन्ने निकै राम्रो सन्देश दिएको नवीलको भिडियो सार्वजनिक भएको केही घण्टादेखि नै भाइरल बनिरहेको छ । 

नवील बैंकले यो भिडियोमार्फत कोभिड संक्रमणबाट जोगिने उपाय मात्र सिकाएको छैन निकै राम्रो भिडियोमार्फत आफ्नो डिजीटल प्लेटफर्मको पनि सुन्दर ढंगले प्रचार गरेको देखिन्छ । भर्चुअल माध्यमलाई प्रयोग गरेर समेत ढुक्कसँग चाडपर्व मनाउन सकिने र आफ्नी चेलीलाई नवीलको डिजीटल माध्यमबाट दक्षिणा पठाउन सकिने सन्देश पनि समेटिएको छ । 

हालसम्म नवील बैंकले तयार गरेको तिहारसँग सम्बन्धी यो मार्मिक भिडियो २७ लाख भन्दा बढीले हेरिसकेका छन् । यो भिडियो बुधबार साँझ सार्वजनिक गरिएको थियो । 

नवील बैंकले यसअघि दशैंको अवसरमा पनि यस्तै मार्मिक र सन्देशमूलक भिडियो सार्वजनिक गरेको थियो । जसलाई करिब १५ लाखले हेरेका थिए । बैंक वा वित्तीय संस्थाहरुबाट यस्ता खालका सन्देशमूलक भिडियो निर्माण गर्ने र सर्वसाधारणको चेतनाका लागि सार्वजनिक गर्ने नवीलको यो शैलीलाई धेरैले मन पराएका छन् । 

नवील बैंकका संस्थागत संचार विभाग प्रमुख कृष्ण सुवेदीका अनुसार दशैंमा सार्वजनिक गरिएझै तिहारमा समेत धेरैको जीवन र परिस्थितिसँग मेल खाने भिडियो सार्वजनिक गरिएको र यो पटक त झनै धेरै भ्यूज आएको बताए । 

तिहार सुरक्षित तरिकाले मनाउनुपर्ने सन्देश आफूहरुले भिडियोबाट दिन खोजेको उल्लेख गर्दै उनले भने-'सर्वसाधारणले भिडियोलाई औधी रुचाइदिनुभएको छ । दशैंको भन्दा तिहारको भिडियो धेरैपटक हेरिएको छ ।' 

उनका अनुसार तिहारको यस भिडियोले अहिलेको अवस्थामा भौतिकरुपमा भन्दा भावनात्मकरुपका नजिक भएर तिहार मनाऔं भन्ने सन्देश सरल ढंगले दिएका कारण पनि धेरैको मन जितेको हो । उनका अनुसार भिडियोमा डिजीटल भुक्तानीलाई पनि सन्देशको रुपमा समेट्न खोजिएको छ ।