काठमाण्डौ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालका भरपर्दा सारथी मानिएका केही सांसदहरुले आफूहरुले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर नगरेको प्रष्टीकरण दिएका छन् । 

यसरी माधव नेपालकै विश्वासपात्र मानिएका ती युवा नेताले यस्तो प्रष्टीकरण दिएसँगै मुलुकको राजनीतिमा रोचकता थपिँदै गएको छ । 

एमालेका वरिष्ठ नेता नेपालले २७ सांसदको हस्ताक्षर देउवालाई बुझाएका थिए । तीमध्ये केही हस्ताक्षर भने किर्ते भएको देखिएको हो । अर्कै प्रयोजनका लागि दिइएको हस्ताक्षर नेपालले दुरुपयोग गरेकोमा उनकै नजिकका युवा नेता रुष्ट बनेका छन् । 

यसरी देउवालाई प्रम बनाउन हस्ताक्षर नगरिएको प्रष्टीकरण दिने सांसद तथा नेताहरुमा योगेश भट्टराई, गोकर्ण बिष्ट, सुरेन्द्र पाण्डे र जयकुमार राई रहेका छन् । 

आफू निकटका नेताहरुले हस्ताक्षर दुरुपयोग भयो भनिरहँदा वरिष्ठ नेता नेपाल चाहि शितल निवासमा देउवा र प्रचण्डसँगै राष्टपतिलाई कुरेर बसेका छन् । देउवालाई प्रधानमन्त्री बनाउने प्रस्ताव गर्दै उनले २७ सांसदको हस्ताक्षर बुझाएका छन् । देउवाको पक्षमा कुल १४९ सांसद रहेका उनीहरुको दाबी छ । 

देउवा र प्रचण्डसँग मिलेर गरेको प्रयास यदि विफल भयो भने माधवकुमार नेपाल एमालेमा थप कमजोर हुने देखिएको छ । उनलाई साथ दिंदै आएका नेताहरुले समेत साथ छाड्ने अवस्था सिर्जना भएको छ । 

यसैबीच, माधव नेपालका अर्का विश्वासपात्र घनश्याम भूसालले पनि आफ्नो हस्ताक्षर दुरुपयोग गरिएको दाबी गरेका छन् । 

अन्य सांसदहरु नारायण खतिवडा र गणेश पहाडीले पनि देउवालाई समर्थन गर्ने गरी आफूहरुले हस्ताक्षर नगरेको बताएका छन् । यसरी देउवाको समर्थनमा हस्ताक्षर गरेका ६ जनाले आफूहरुको समर्थन नरहेको र हस्ताक्षर किर्ते गरिएको दाबी गरेका छन् ।