काठमाण्डौ । माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडले आज मंसिर २३ गतेदेखि आईपीओ बिक्री खुला गरेको छ। 

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा गएका नेपालीका लागि आईपीओ बिक्री खुला गरेको हो। कम्पनीले जारी पुँजी १ अर्ब रुपैयाँको ३४ प्रतिशतले हुने ३४ लाख कित्ता साधारण सेयरमध्ये जारी पुँजीको १० प्रतिशतले हुन आउने १० लाख कित्ता स्थानीय र सर्वसाधारणका लागि जारी हुने बाँकी २४ लाख कित्तामध्ये १० प्रतिशत अर्थात २ लाख ४० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बिक्री खुलाएको छ। 

यो आईपीओमा आयोजनाबाट अतिप्रभावित संखुवासभा जिल्लाको चैनपुर–८ र ९, धर्मादेवी ३, ४ र ५, मादी–४ र ६ का लागि बासिन्दाका लागि ६ लाख कित्ता तथा प्रभावित क्षेत्र संखुवासभा जिल्लाको चैनपुर, धर्मदेवी र मादी नगरपालिकाका अन्य क्षेत्रका स्थानीयका लागि ४ लाख कित्ता छुट्याएको छ।  

स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतममा १ लाख कित्ता र वैदेशिक रोजगारीमा गएकाले न्यूनतम १० कित्तादेखि ५० हजार कित्तासम्म आवेदन दिन पाउनेछन्। 

स्थानीयका लागि जारी आईपीओ छिटोमा पुस ८ गतेसम्म आवेदन दिनुपर्नेछ। यो अवधिसम्म मागबमोजिम आवेदन नपरेको खण्डमा बिक्री खुला अवधि पुस २४ गतेसम्म लम्ब्याइने कम्पनीले जनाएको छ। 

यसैगरी वैदेशिक रोजगारीमा रहेका नेपालीले भने पुस ८ गतेसम्म आईपीओ भरिसक्नुपर्नेछ। 

वैदेशिक रोजगारीमा रहेका नेपालीले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखाहरुबाट सी–आस्बा प्रणालीमा आवेदन दिन सक्नेछन्। 

स्थानीयले संखुवासभाको खाँदबारीस्थित प्राइम कमर्सियल बैंक, धर्मदेवीस्थित नेपाल एसबीआई बैंक, संखुवासभास्थित माया खोला हाइड्रोपावर कार्यालय र काठमाण्डौको कमलादीस्थित प्रभु क्यापिटलको कार्यालय तथा क्यापिटलले निर्माण गरेको अनलाइनबाट आवेदन दिन सक्नेछन्। 

यो आईपीओको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ।