काठमाण्डौ । मायाखोला हाइड्रोपावर कम्पनी र सुपरमाई हाइड्रोपावर लिमिटेडको सेयर दोस्रो बजारमा बुधबारबाट कारोबारमा आउने भएका छन्। 

मायाखोला र सुपरमाई हाइड्रोपावरको आईपीओ आज सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएका छन्। कुनै पनि कम्पनीको आईपीओ नेप्सेमा सूचीकृत भएको दोस्रो दिनबाट कारोबारमा आउँछ। तर, भोलि मंगलबार घोडे जात्राको बिदा परेकोले यी कम्पनीको सेयर पर्सि बुधबारबाट आउने भएका हुन्। 

नेप्सेमा मायाखोलाको १०० अंकित दरका कुल १ करोड कित्ता सूचीकृत भएको छ। जसमा संस्थापक समूहको ६६ लाख कित्ता, स्थानीयको १० लाख कित्ता र २४ लाख कित्ता सर्वसाधारणको रहेको छ। 

नेप्सेले मायाखोला हाइड्रोपावरलाई ‘एमकेएचसी’ कारोबार संकेत प्रदान गरेको छ। पहिलो कारोबारका लागि भने नेप्सेले यो कम्पनीको सेयरलाई प्रतिकित्ता न्यूनतममा ८८.५३ रुपैयाँ र अधिकतममा २६५.५९ रुपैयाँमा तोकेको छ। 

यसैगरी नेप्सेमा सुपरमाई हाइड्रोपावरको १०० अंकित दरका कुल ५० लाख कित्ता सेयर सूचीकृत भएको छ। जसमा संस्थापकको ४० लाख कित्ता, स्थानीयको ५ लाख कित्ता र सर्वसाधारणको ५ लाख कित्ता छन्।

नेप्सेले सुपरमाई हाइड्रोपावरलाई ‘एसएमएच’ कारोबार संकेत प्रदान गरेको छ। पहिलो कारोबारका लागि भने नेप्सेले यो कम्पनीको सेयरलाई प्रतिकित्ता न्यूनतममा १३०.७६ रुपैयाँ र अधिकतममा ३९२.२८ रुपैयाँमा तोकेको छ। 

यदि बुधबार स्पेसल प्रि–ओपन सेसनमा यी दुवै कम्पनीको सेयर नेप्सेले तोकेको रेन्जभित्र किनबेच भएमा नियमित समयका लागि कारोबारमा आउनेछ।