– अनन्त्य सुन्दर

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष हमालले कानुनविपरीत कर्मचारीहरुलाई ‘फोन ट्यापिङ’ गर्ने मौखिक धम्की दिँदै मिडियासँग कुरा गर्न बन्देज लगाएको खुलासा भएको छ। 

बिचौलियाहरुको आडमा धितोपत्र बोर्डले नयाँ ब्रोकर लाइसेन्सका साथै नयाँ स्टक एक्सचेन्ज सञ्चालनमा ल्याउन खोजेकोजस्ता समाचार बाहिरिएसँगै अध्यक्ष हमालले कर्मचारीहरुलाई यस्तो मौखिक धम्की दिएको एक उच्च अधिकारीले बताए। ‘अध्यक्ष हमालले कर्मचारीहरुलाई बोर्डमा भएको गतिविधिका बारेमा कुनै पनि मिडिया वा अन्य कोही व्यक्तसँग कुराकानी गरेमा फोन ट्यापिङ गर्ने आन्तरिक रुपमा मौखिक आदेश दिएका छन्’, ती अधिकारीले भने, ‘अध्यक्ष, प्रवक्ता, सहप्रवक्ताबाहेक अन्य कर्मचारीलाई विशेषगरी मिडियामा कार्यरत व्यक्तिसँग कुरा नगर्न भनिएको छ।’

संगठित अपराध निवारण ऐन, २०७० को दफा १८ को दफा १ मा ‘टेलिफोन वा सञ्चारको विवरण माग गर्न सकिने’ शीर्षकमा संगठित अपराधको सिलसिलामा प्रयोग गरिएको कम्प्युटर, टेलिफोन, मोबाइल वा कुनै प्रकारको दूरसञ्चार माध्यम प्रयोग गरी सूचना आदान–प्रदान गरेको पाइएमा त्यस्तो सूचना उपलब्ध गराइदिन सम्बन्धित अधिकारी, निकाय वा सेवा प्रदायकलाई आदेश दिन सक्ने उल्लेख छ।

उक्त ऐनमा संगठित अपराधको अनुसन्धानको सिलसिलामा अनुसन्धान अधिकृतको अनुरोधमा तत्कालै सञ्चार अभिलेख गर्न सकिने आदेश दिन सकिने व्यवस्था गरिनुका साथै अभिलिखित सञ्चारसम्बन्धी विवरण संगठित अपराधको मुद्दाको कारबाहीका लागिबाहेक अन्य प्रयोजनका लागि गोप्य रहने उल्लेख छ।

त्यसैले प्रचलित कानुनअनुसार अध्यक्ष हमालले कार्यरत कर्मचारीको फोन ट्यापिङ गर्न नपाउने ती अधिकारीको भनाइ छ। आफूले धितोपत्र बोर्डमा बसेर गर्ने चलखेलहरुको समाचार बाहिर आउने डरले नै अध्यक्ष हमालले कर्मचारीलाई फोन ट्यापिङको धम्की दिएको आशंका गर्दै ती अधिकारीले भने, ‘अध्यक्षको उक्त आदेशपछि धितोपत्र बोर्डमा केही गलत काम भए पनि कर्मचारी चुप लागेर बस्नुपर्ने अवस्था छ।’

यस विषयमा कुराकानी गर्न अध्यक्ष हमाललाई पटक–पटक फोन गर्दा उठेन।