काठमाण्डौ। मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको आज बुधबार सम्पन्न १० औँ वार्षिक साधारणसभा (एजीएम) बाट गत आर्थिक वर्षका लागि प्रस्तावित लाभांश र एफपीओ जारी गर्ने विशेष प्रस्ताव अनुमोदन भएका छन्।

काभ्रेको बनेपास्थित पञ्चकन्या ब्यांक्वेटमा सम्पन्न भएको वार्षिक साधारणसभाले गत आर्थिक वर्षका लागि प्रस्तावित कुल ९.६८ प्रतिशत लाभांश अनुमोदन गरेको छ। जसमा ९.२० प्रतिशत बोनस र बोनस कर प्रयोजनार्थ ०.४८ प्रतिशत नगद लाभांश रहेका छन्।

सोही सभाले साधारण सभाले यसअघि स्वेडा लघुवित्त वित्तीयलाई प्राप्तिपश्चात संस्थापक सेयर र सर्वसाधारण सेयर पुँजीको अनुपात मिलानका क्रममा फरक पर्न आएको रकमलाई प्रिमियममा एफपीओ सेयर निष्कासन गर्ने विशेष प्रस्ताव पनि अनुमोदन गरेको छ। 

सभाले साविक नागबेली लघुवित्त वित्तीय संस्थाको १ अर्ब २९ करोड ६७ लाख ४९ हजार २७९ रुपैयाँको वासलातसहितको वित्तीय विवरण र मिर्मिरे लघुवित्तको २ अर्ब ९२ करोड ४२ लाख २ हजार ८९६ रुपैयाँको वासलातसहितको वित्तीय विवरण पास गरेको छ। मिर्मिरेले साविक नागवेली लघुवित्तलाई गत भदौ ७ गते प्राप्ति गरी एकीकृत कारोबार गरेको हो।