काठमाण्डौ  । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले ९० लाख रुपैयाँ बढीको एफपीओ निष्कासन गर्ने भएको छ। 

संस्थाले गत कात्तिक २३ गते एफपीओ निष्कासनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड (सेबोन) मा आवेदन दिएको हो। संस्थाले ५१ हजार ३१६ कित्ता एफपीओ निष्कासनको अनुमति माग गरेको छ। 

धितोपत्र बोर्डले स्वीकृति दिएमा मिर्मिरेले अंकित मूल्य १०० रुपैयाँमा ७७.८ रुपैयाँ प्रिमियम जोडेर प्रतिकित्ता १७७.८ रुपैयाँमा एफपीओ निष्कासन गर्नेछ। 

मिर्मिरे लघुवित्तको एफपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ। 

त्यसो त धितोपत्र बोर्डमा किसान लघुवित्त र नयाँ सारथी लघुवित्तको एफपीओ पाइपलाइनमा छन्। यी दुवै लघुवित्त पनि एफपीओ निष्कासनको अनुमतिको पर्खाइमा छन्।

अनुमति पाएमा किसान लघुवित्तले अंकित मूल्य १०० रुपैयाँमा २५ रुपैयाँ प्रिमियम जोडेर प्रतिकित्ता १२५ रुपैयाँ कुल १२ लाख ९८ हजार २५९ कित्ता एफपीओ निष्कासन गर्नेछ। यो संस्थाको एफपीओ बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ। 

यसैगरी नयाँ सारथी लघुवित्तले पनि अंकित मूल्य १०० रुपैयाँमा १६ रुपैयाँ प्रिमियम जोडेर प्रतिकित्ता ११६ रुपैयाँमा ३ लाख २९ हजार ६४९ कित्ता एफपीओ निष्कासन गर्नेछ। नयाँ सारथीको एफपीओ बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ।