काठमाण्डौ । नेपालको बैंकिङ उद्योगमा ‘लफडा ग्रुप’को नामले परिचित एनबी ग्रुपले सम्झौता हुनै लागेको प्रभू बैंक–एनसीसी बैंक बीचको मर्जरलाई भाँडिदिएको छ । 

सेयर स्वाप रेसियोदेखि कर्मचारी समायोजन लगायतका जटिल मुद्धामा समेत धेरै पटकका छलफलबाट निश्कर्ष निकाली मर्जरका लागि सम्झौता हुनै लाग्दा एनबी समूह अवरोधको रुपमा अगाडि आउँदै बखेडा सिर्जना गरिदिएको हो । 

एनबी ग्रुपको बखेडासँगै सम्झौता गर्ने विन्दूसम्म पुगिसकेका प्रभू बैंक र एनसीसी बैंकका अन्य संचालक समेत पछाडि हटेका छन् । कयौंपटकका छलफल बेकार बनेका छन् । 

एनबी समूह मुद्धा हाल्ने र निषेधाज्ञा जारी गराउने मामलामा नेपालमा चर्चित समूह हो । आफ्नो लगानी रहेको संस्थाबाट कुनै राम्रो काम हुन लाग्यो भने पनि यो समूह आफ्नो स्वार्थ पूरा हुने नदेखिएको अवस्थामा अदालत पुगिहाल्छ र आफू अनुकुल आदेश जारी गराइहाल्छ । यो समूहले नेपाल बंगलादेश बैंकमा आइएफआइसी समूहको सेयर खरीद गर्न समेत आवेदन हालेको थियो । तर, यो समूहको लफडाबाजी बुझेको राष्ट्रबैंकले सो समूहले एनबी बैंकको सेयर नै खरीद गर्न नपाउने निर्णय गरिदियो । 

बखेडा झिक्न माहिर यही समूहले एनसीसी बैंकमा समेत बेलाबखत बखेडा गरिरहन्छ । यसको पछिल्लो शिकार ‘प्रभू–एनसीसी बैंकबीच मर्जर प्रयास’ समेत बन्यो । 

स्रोतका अनुसार प्रभू र एनसीसीका संचालकबीच मर्जरका लागि धेरै चरणका छलफल भइसकेका थिए । सेयर स्वाप रेसियो र कर्मचारी समायोजनजस्ता मर्जरका जटिल मुद्धामा समेत निश्कर्ष निस्किसकेको थियो । तर, प्रभू बैंकमा एनसीसी मर्ज गराउँदा आफूहरु कमजोर बन्ने आँकलन गर्दै एनबी समूहले अवरोध गरेको स्रोत बताउँछ । 

‘एनबी समूह अवरोधको रुपमा अगाडि आएपछि प्रभू बैंकका संचालकहरु पनि पछाडि हटे ।’ एनसीसी बैंकका एक संचालकले भने–‘एनबी समूहले बखेडा नझिकेको भए अहिलेसम्म हामीबीच मर्जर सम्झौता भइसक्थ्यो ।’ 

प्रभू बैंकका एक संचालकले पनि एनसीसी बैंकसँग सबै कुरा मिलिसकेको अवस्थामा एनबी समूहको बखेडाले मर्जरको सम्झौता हुन नसकेको प्रष्ट पारे । 

यो विषयमा प्रभू बैंकका संचालक र केही एनसीसी बैंकका संचालकहरुले राष्ट्रबैंकलाई समेत रिपोर्टिङ गरिसकेका छन् । केन्द्रीय बैंकले केही हस्तक्षेपकारी भूमिका खेल्यो भने मात्र यी दुई बैंकबीच मर्जर सम्झौता हुनसक्ने अवस्था रहेको स्रोत बताउँछ ।