काठमाण्डौ । गौतम अडानीको सातौँ कम्पनी आज भारतीय सेयर बजारमा सूचीकृत भएको छ। अडानी विल्मारको सेयर निष्कासन मूल्यको तुलनामा भारु २२१ को मामुली छुटमा आज सूचीकृत भएको हो।

योे आईपीओको भाउ भारु २३० तोकिएको थियो। सूचीकरणपछि यसमा लगभग ४ प्रतिशतको गिरावट आएको छ।

यससँगै अडानी समूहका कुल कम्पनीहरुको मार्केट क्याप बढेर भारु ११.४६ लाख करोड पुगेको छ। योसँगै अब गौतम अडानी मुकेश अम्बानीभन्दा भारु २१ हजार करोडले अगाडि छन्। उनी एसियाकै धनीव्यक्ति बन्न पुगेका छन्। अम्बानीको सम्पत्ति भारु ६.६६ लाख करोड रुपैयाँ छ भने अडानीको भारु ६.८७ लाख करोड छ।

अडानी विल्मार विदेशी कम्पनी विल्मार र अदानी समूहको संयुक्त लगानी रहेको छ। यसमा दुवैको ५०–५० प्रतिशत सेयर थियो। तर, आईपीओ जारी गरेपछि यो हिस्सेदारी ८७.९२ प्रतिशतमा झरेको छ। यसको मतलब अडानीको यसमा लगभग ४४ प्रतिशत हिस्सा हुनेछ। जसका कारण गौतम अडानीको सम्पत्ति करिब भारु १३ हजार करोडले वृद्धि हुनेछ।

गौतम अडानीले गत शुक्रबार नै मुकेश अम्बानीलाई पछि पारेका थिए। त्यसअघि पनि केही समयका लागि यस्तो भएको थियो। तर, सातौँ कम्पनी सूचीकृत भएपछि अडानी र अम्बानीबीचको अन्तर बढेको छ। 

गौतम अडानी विश्वका धनीहरुको सूचीमा १० औँ नम्बरमा छन् भने मुकेश अम्बानी अहिले ११ औँ नम्बरमा छन्।

मुकेश अम्बानी गत वर्ष जनवरी ६ मा शीर्ष १० धनाढ्यको सूचीबाट बाहिरिका थिए। त्यसपछि फेरि गत सेप्टेम्बर २३ मा उनी शीर्ष १० धनाढ्यको सूचीमा परे। तर गत अक्टोबर १६ मा उनी फेरि यो सूचीबाट बाहिरिएका थिए।

टेस्ला कम्पनीका मालिक एलन मस्क विश्वकै धनीव्यक्तिको सूचीमा पहिलो नम्बरमा छन्। उनको कुल सम्पत्ति २३२.२ अर्ब डलर छ। – एजेन्सी