काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेडले रु. १.२५ अर्बबराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ। बैंकले ऋणपत्र बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेडलाई नियुक्त पनि गरेको छ।

डिबेन्चर बिक्री प्रबन्धक सम्झौतापत्रमा मुक्तिनाथ विकास बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल र सानिमा क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भीष्मराज चालिसेले हस्ताक्षर गरेका छन्। बैंकले १ हजार अंकित दरका कुल १२ लाख ५० हजार इकाइले हुन आउने १ अर्ब २५ करोड रुपैयाँबराबरको ‘मुक्तिनाथ डिबेन्चर ऋणपत्र २०८४/८५’ निष्काशन गर्नेछ। 

कुल इकाइमध्ये ७ लाख ५० हजार इकाइ व्यक्तिगत तबरमार्फत र ५ लाख इकाइ सर्वसाधारण लगानीकर्तालाई सार्वजनिक निष्काशन विधिमार्फत निष्कासन गरिनेछ। लगानीकर्तालाई अर्धवार्षिक रुपमा ब्याज प्रदान गरिने यस ऋणपत्रको अवधि ७ वर्षको हुनेछ।

ऋणपत्र नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा सूचिकरण गरिनेछ। हाल नेपालमा दीर्घकालीन लगानीका लागि वित्तीय साधनहरु अत्यन्त कममात्र उपलब्ध रहेको अवस्थामा दीर्घकालीन रुपमा उच्चतम प्रतिफल प्राप्त हुने, प्रतिफलको सुनिश्चितता हुने एवं सुरक्षित लगानी हुनेलगायतका दृष्टिकोणबाट दीर्घकालिन लगानीको लागि एक विरलै प्राप्त हुने एवं उत्कृष्ट अवसर भएकोले यसबाट फाइदा उठाउन बैंकले आग्रह गरेको छ। 

बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न भिजा नेटवर्कअन्तर्गतको जुनसुकै बैंकको एटीएमबाट विना कुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरिएको छ। त्यसैगरी मोबाइल बैंकिङ, क्यूआर कोड स्क्यान, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खातामै रेमिट्यान्स जम्मा हुनेजस्ता कार्यहरु बैंकको शाखामा उपस्थित नभई घरबाट गर्न सकिने व्यवस्थासमेत गरिएको छ।