काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमीटेडले चालु आर्थिक वर्षको तेश्रो त्रैमासमा खूद नाफातर्फ ४८.७५ प्रतिशतको छलाङ मारेको छ । 

अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकले खूद नाफातर्फ लोभलाग्दो प्रगति गरेको हो । अघिल्लो वर्षको यही अवधिसम्म बैंकको खूद नाफा ६७ करोड ६० लाखमा सीमित रहेकोमा त्यसलाई बढाएर यो वर्ष १ अर्ब माथि पुर्याएको देखिएको छ ।योसँगै नौ महिनाको अवधिमा एक अर्ब बढी नाफा कमाउने विकास बैंकको रेकर्ड मुक्तिनाथ विकास बैंकले बनाउने सफलता पनि पाएको छ । 

 

समीक्षा अवधिमा बैंकको वितरणयोग्य मुनाफा ८२ करोड ८७ लाख रुपैयाँ रहेको छ । यो मुनाफा चौथो त्रैमाससम्म पनि निरन्तर रह्यो भने बैंकले कम्तीमा १८ प्रतिशतसम्म लाभांश बाँड्नसक्ने क्षमता बनाउने देखिन्छ । 

बैंकको संचालन मुनाफातर्फ पनि ४७.३० प्रतिशतको प्रगति भएको छ । अघिल्लो वर्षको यही अवधिसम्म मुक्तिनाथको संचालन मुनाफा ९६ करोड ५७ लाखमा सीमित रहेकोमा यो वर्ष बढेर १ अर्ब ४२ करोड पुगेको छ । 

अघिल्लो वर्ष १ अर्ब ६९ करोडमा सीमित खूद ब्याज आम्दानी बढेर १ अर्ब ८९ करोड पुगेको छ भने ८१ करोड ५६ लाखमा सीमित रिजर्बको आकार बढेर १ अर्ब १ करोड माथिको उचाईमा पुगेको छ । 

समीक्षा अवधिमा बैंकले ७९ अर्ब ९० करोड निक्षेप संकलन गरी ६८ अर्ब ५७ करोड बढी कर्जा परिचालन गरेको छ । अघिल्लो वर्षको यही अवधिसम्म ५७ अर्ब ३१ करोड बढी निक्षेप संकलन गरी ४७ अर्ब ६६ करोड बढी कर्जा परिचालन गरेको थियो । 

बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानीतर्फ पनि निकै लोभलाग्दो बढोत्तरी भएको छ । अघिल्लो वर्षको यही अवधिसम्म १८.७३ रुपैयाँ रहेको इपीएस बढेर यो वर्ष २७.८७ रुपैयाँ पुगेको छ । यसरी इपीएसतर्फ ४८.७९ प्रतिशतको प्रगति भएको देखिन्छ । 

समीक्षा अवधिमा बैंकको खराब कर्जा अनुपात ०.२१ प्रतिशत, कष्ट अफ फण्ड ६.०९ प्रतिशत, सीसीडी रेसियो ७९.९३ प्रतिशत, बेस रेट ८.०१ प्रतिशत,  पीई रेसियो १५.४७ गुणा, क्यापिटल एडेक्वेसी रेसियो ११.१४ प्रतिशत कायम भएको छ ।