काठमाण्डौ । मुक्तिनाथ विकास बैंकको १.२५ अर्ब रुपैयाँबराबरको ऋणपत्रमा आज साउन ७ गतेबाट आवेदन खुला गरिएको छ। 

बैंकले ‘मुक्तिनाथ डिबेन्चर २०८४/८५’ नामक ऋणपत्र निष्कासन गरेको हो। बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल १२ लाख ५० हजार इकाइ ऋणपत्र निष्कासन गरेको छ। 

कुल इकाइमध्ये ७ लाख ५० हजार इकाइ व्यक्तिगत तबरबाट र बाँकी ५ लाख इकाइ सर्वसाधारणका लागि (सोमध्ये ५ प्रतिशत अर्थात २५ हजार इकाइ ऋणपत्रमध्ये १ हजार ५०० इकाइ ऋणपत्र सामूहिक लगानी कोषलाई बाँडफाँडपश्चात बाँकी रहेको ३३ हजार ५०० कित्ता ऋणपत्रसहित) निष्कासन गरिएको छ। 

यो ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतममा ५ लाख इकाइसम्म खरिद आवेदन दिन सक्नेछन्। आवेदन सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुबाट दिन सकिनेछ। 

ऋणपत्रको निष्कासन बन्द छिटोमा साउन ११ गते वा ढिलोमा साउन २१ गते हुने भनिएको छ। ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ।

सातवर्षे यो ऋणपत्रलाई नेपाल धितोपत्र बोर्डले गत असार ८ गते निष्कासन अनुमति दिएको थियो। यसमा लगानीकर्ताले वार्षिक ८.७५ प्रतिशत ब्याज पाउनेछन्।