काठमाण्डौ । मुक्तिनाथ विकास बैंकको १.२५ अर्ब रुपैयाँबराबरको ऋणपत्रमा आवेदन दिने आज साउन १२ गते अन्तिम दिन रहेको छ। 

गत साउन ७ गतेबाट बैंकले ‘मुक्तिनाथ डिबेन्चर २०८४÷८५’ नामक ऋणपत्र निष्कासन गरेको छ। यो ऋणपत्रमा आज बैंकिङ समयसम्म आवेदन दिन सकिने धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलले जनाएको छ। 

बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल १२ लाख ५० हजार इकाइ ऋणपत्र निष्कासन गरेको छ। कुल इकाइमध्ये ७ लाख ५० हजार इकाइ व्यक्तिगत तबरबाट र बाँकी ५ लाख इकाइ सर्वसाधारणका लागि (सोमध्ये ५ प्रतिशत अर्थात २५ हजार इकाइ ऋणपत्रमध्ये १ हजार ५०० इकाइ ऋणपत्र सामूहिक लगानी कोषलाई बाँडफाँडपश्चात बाँकी रहेको २३ हजार ५०० कित्ता ऋणपत्रसहित) निष्कासन गरिएको छ। 

यो ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतममा ५ लाख इकाइसम्म खरिद आवेदन दिन सक्नेछन्। आवेदन सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुबाट दिन सकिनेछ। 

सातवर्षे यो ऋणपत्रलाई नेपाल धितोपत्र बोर्डले गत असार ८ गते निष्कासन अनुमति दिएको थियो। यसमा लगानीकर्ताले वार्षिक ८.७५ प्रतिशत ब्याज पाउनेछन्।