काठमाण्डौ । देशको समग्र कृषि क्षेत्रको विकासमा टेवा पुर्याउने उद्देश्यले स्थापित मुक्तिनाथ कृषि कम्पनी लिमिटेड चौथो वर्षमा प्रवेश गरेको छ।

वि.सं. २०७५ साल भदौ १४ गतेका दिन मुक्तिनाथ विकास बैंकलगायत नेपालमा ख्याति प्राप्त व्यवसायिक व्यक्तिहरुको लगानीमा स्थापित यो कम्पनी सफलतापूर्वक तेस्रो वर्ष पार गरी चौथो वर्षमा प्रवेश गरेको हो। देशभर रहेका कृषि व्यवसायी, कृषक, आमउपभोक्ता, युवा र सम्बन्धित सबै सरोकारवालाहरु एकआपसमा प्राविधिक तथा व्यावसायिक साझेदारी गरी देशको समग्र कृषि अर्थतन्त्रको विकासमा टेवा पुर्याउन सहकार्य गर्ने अभिप्राय कम्पनीले राखेको छ। 

कम्पनीले देशको कृषि अर्थतन्त्रमा टेवा पुर्याउनका लागि कृषि पेशालाई प्रतिष्पर्धी र मर्यादित बनाई युवाहरुको आकर्षणको केन्द्र बनाउने लक्ष्यसहित समग्र कृषि मूल्य शृंखलाको अवयवहरुमा काम गर्ने उद्देश्य लिएको छ। विभिन्न उद्देश्यहरु प्राप्तिका लागि आफ्नो स्थापनाकालदेखि विभिन्न कृषि व्यवसायि, कृषक समुह तथा सहकारीहरुसँग सहकार्य गर्दै कृषकहरुलाई आवश्यक पर्ने गुणस्तरीय उत्पादका साधनहरु, प्रविधि र वित्तीय पहुँचमा सहजीकरण कसरी गर्न सकिन्छ र कृषकहरुले उत्पादन गरेको उपजहरुलाई उपभोक्त समक्ष कसरी सहज, सुलभ र सुरक्षित रुपमा पुर्याउन सकिन्छ भन्ने सन्दर्भमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्था, उत्पादक कम्पनीहरुसँग सहकार्य गर्दै आएको छ। आफ्नो स्थापनाकालदेखि नै देशका विभिन्न भूभागमा कृषि पेसा गर्दै आइरहेका कृषकहरुलाई सहजीकरण गर्नका लागि सोहीअनुसार व्यावसायिक साझेदारी गरी व्यवसाय सञ्चालन गर्देै आइरहेको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। 

हालसम्म कम्पनीले १५ वटाभन्दा बढी जिल्लामा आधिकारिक व्यावसायिक साझेदार निर्माण गरी ५० वटाभन्दा बढी जिल्लाका कृषकहरुलाई गुणस्तरीय सेवा विस्तार गरेको छ। सँगसँगै कृषकहरुलाई समयानुकूलका आवश्यक प्रविधि हस्तान्तरणका लागि तालिमलगायतका अभियानहरु सञ्चालन गर्दै आएको छ। जसको फलस्वरुप तेस्रो वार्षिकोत्सवका अवसरमा आ.व. २०७७÷७८ मा उत्कृष्ठ व्यावसायिक साझेदार गर्ने विभिन्न कम्पनी, फर्म, कृषक समूहहरुलाई पुरस्कृत गरेको छ। जसअन्तर्गत गणपति एग्रिकल्चर प्रालि धादिङलाई वर्ष उत्कृष्ट व्यवसाय साझेदार पुरस्कार, जय किसान एग्रो मार्ट एन्ड मेसिनरी, कपिलवस्तुलाई उदाउँदो व्यवसायी पुरस्कार, तमोर कृषि भण्डार, झापालाई दिगो व्यवसायिक साझेदार पुरस्कार र भिउ टावर तरकारी पकेट काठमाण्डौलाई उत्कृष्ट कृषक समूह पुरस्कारबाट सम्मानित गरिएको छ। 

यसका साथै कम्पनीको सेवामा रही उत्कृष्ठ कार्य सम्पादन गर्ने कर्मचारीहरु कमल पण्डितलाई वर्ष उत्कृष्ट कर्मचारी र सन्दिप रिजाल, दिपेश थापा र हेमराज ढकाललाई विभिन्न विधामा पुरस्कृत गरी थप हौसला प्रदान गरिएको छ। 

यसै सन्दर्भमा उत्कृष्ठ व्यावसायिक साझेदारी गरी पुरस्कृत भएका कृषि व्यवसायीहरुले मुक्तिनाथ कृषि कम्पनीले प्रवाह गरेको गुणस्तरीय वस्तु तथा सेवाहरु कृषकहरुसमक्ष पुर्याउँदा, कृषकहरु त्यसको प्रतिफलबाट निकै खुसी रहेको प्रतिक्रिया दिँदै आगामी दिनमा वस्तु तथा सेवाहरुको दायरा अझ फराकिलो बनाउन सुझावहरुसहित व्यावसायिक साझेदारीलाई अझै मजबुत बनाई अगाडि बढ्न हौसला प्रदान गरेका छन्। 

चौथो वर्ष प्रवेश गर्दैगर्दा कम्पनीले गरेका असल कार्यहरुलाई निरन्तरता दिँदै यसै वर्षदेखि देशभरि नै व्यवसाय विस्तार गर्नका लागि स्थानीय कम्पन, फर्म, एग्रोभेट, कृषक समूह, सहकारीहरुसँग संस्थागत सहकार्य गर्दै कृषकहरुलाई आवश्यक उत्पादनका साधन, प्रविधि, पुँजी र कृषि उपजहरुको बजारीकरणलाई व्यवस्थित गरी आम उपभोक्तालाई सहज, सरल र सुरक्षित खाद्य वस्तुहरु उपलब्ध गराउने दिशामा कम्पनी अग्रपंक्तिमा रही काम गर्ने कम्पनीले विश्वास दिलाएको छ। 

कम्पनीले यसै वर्ष पाँचवर्षे रणनीतिक योजना निर्माण गरेको र सोहीअनुसार कृषि मूल्य शृंखलामा व्यवस्थापकीय काम गर्दै पाँच वर्षमा कम्पनीलाई कृषि स्रोत केन्द्रका रुपमा स्थापित गर्ने लक्ष्य राखेको छ।