काठमाण्डौ । नेपाल विज्ञापन संघ (आन) र मुक्तिनाथ विकास बैंक लिमिटेडबीच आइतबार आनका सदस्य एजेन्सीहरुलाई सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने सम्बन्धमा सम्झौता भएको छ। 

सम्झौतापत्रमा आनका तर्फबाट अध्यक्ष सोमप्रसाद धिताल र बैंकका तर्फबाट प्रमूख कार्यकारी अधिकृत (सीईओ) प्रद्युमन पोखरेलले हस्ताक्षर गरेका छन्। 

सम्झौताअनुसार बैंकले आनका सदस्य संस्थाहरुलाई २ वर्षका लागि १५ लाख रुपैयाँसम्मको बिना धितो कर्जा प्रवाह गर्नेछ। आनका हाल डेढ सयभन्दा बढी विज्ञापन एजेन्सी सक्रिय सदस्य छन् भने झन्डै ७०० एजेन्सीहरु सम्बन्धित रहेर व्यवसाय गर्दै आएका छन्। 

हस्ताक्षर कार्यक्रममा बैंकका (सीईओ) पोखरेलले आजको सहकार्यले विज्ञापन व्यवसायीको आर्थिक रुपान्तरणमा बैंक सहयोगी बन्ने अवसर मिलेको बताए। उनले मुक्तिनाथ विकास बैंकले फरक ढंगले आफ्ना ग्राहकलाई सेवा गर्दै आएकाले लोकप्रिय हुन सकेको उल्लेख गर्दै विज्ञापन व्यवसायीलाई सर्वसुलभरुपमा सहुलियत कर्जा दिन बैंक प्रतिबद्ध रहेको बताए। 

आनका अध्यक्ष धितालले यो सहकार्य विज्ञापन व्यवसायी र बैंकको हितका लागि पनि सहयोगी हुने बताए। उनले कोरोना महामारी र लकडाउनका कारण समस्यामा रहेका विज्ञापन व्यवसायीलाई यो सहुलियत कर्जाले उनीहरुको क्षमता अभिवृद्धि गर्न र आर्थिक सबलीकरणका लागि मद्दत पुग्ने बताए। 

धितालले आजको सम्झौताले मुक्तिनाथ विकास बैंकसँग विज्ञापन व्यवसायीहरुले पनि सहकार्य गर्न प्रेरित गर्ने बताए। 

हस्ताक्षर कार्यक्रममा बैंक र आनका पदाधिकारीहरु सहभागी थिए।