काठमाण्डौ । मुक्तिनाथ कृषि कम्पनीको गण्डकी प्रदेशको पोखरास्थित क्षेत्रीय कार्यालय र कृषि प्रदर्शनी केन्द्रको शुक्रबार उद्घाटन गरिएको छ। 

कम्पनीका कार्यकारी अध्यक्ष भरतराज ढकालको सभापतित्वमा भएको उद्घाटन कार्यक्रममा कार्यक्रममा प्रमुख अतिथिका रुपमा पूर्वप्रधानमन्त्री तथा डा. बाबुराम भट्टराई, विशिष्ट अतिथिका रुपमा भूमि व्यवस्था, कृषि, सहकारी तथा गरिबी निवारणमन्त्री चन्द्रबहादुर बुढा, मुक्तिनाथ बिकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्ययुमन पोखरेललगायत विभिन्न सरकारी निकायहरुको प्रमुखहरु, कृषकहरु, कृषि व्यवसायिहरु, सहकारीका प्रतिनिधिहरु र मुक्तिनाथ गु्रपसंग आबद्ध व्यक्तिहरुको उपस्थिति थियो । सोही कार्यक्रमबाट कृषि उद्यमी परिचयपत्र वितरण पनि सुरुआत गरिएको छ। 

कार्यक्रमको औचित्यमाथि प्रस्ट पार्दै अध्यक्ष ढकालले कम्पनीले देशभर रहेका कृषक तथा कृषि व्यवसायीहरुसमक्ष वस्तु तथा सेवाहरु विस्तार गर्ने अभिप्रायअन्तरगत केन्द्रबाट भईरहेको सेवालाई थप सहज रुपमा सञ्चालन गर्न र बढीभन्दा बढी कृषक र कृषि व्यवसायीलाई सेवा उपलब्ध गराउनका लागि प्रदेशस्तरीय कार्यालय स्थापना गर्ने कम्पनीको लक्ष्यअनुसार सर्वप्रथम गण्डकी प्रदेशका लागि कास्की जिल्लाको पोखरा महानगरपालिकास्थित नागढुंगामा कार्यालय तथा कृषि सामाग्रिहरुको प्रदर्शनीस्थलको स्थापना गरिएको बताए। ‘यसका साथै गण्डकी प्रदेशभरका कृषकहरु तथा कृषि व्यवसायीहरु लाभान्भित हुने गरी स्थापना गरिएको कार्यालय तथा कृषि प्रदर्शनी केन्द्रसहित कृषि उद्यमी परिचयपत्र वितरणलाई उद्घाटन गरी समग्र गण्डकी प्रदेशको कृषि क्षेत्रको सवलीकरणमा निजी क्षेत्रको संथागत अभियान शुरुवात भएको खबर प्रभाह गर्ने अभिप्रायसहित यो कार्यक्रम आयोजना गरिएको हो’, उनले भने। 

कार्यक्रममा गण्डकी प्रदेशको प्रारम्भिक कार्य अवधारणा कम्पनी सचिव तथा वरिष्ठ प्रबन्धक रामशरण तिमल्सिनाले गरेका थिए। जसमा मुख्यतः कृषकसँग मुक्तिनाथ अभियान, कृषि उद्यमी परिचयपत्रको वितरण, कृषि श्रोत केन्द्रहरुको स्थापना, नवप्रवर्तत केन्द्रको सुरुआत, एक स्थानीय संरचना, एक कृषि परियोजना, अर्गानिक मल बैंकको स्थापना र बजार केन्द्रको स्थापना लगायतका कार्यहरु रहेका थिए ।

त्यस्तै कार्यक्रममा मुक्तिनाथ बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले कृषि आयातको अवस्था दयनीय रहेको र कृषि अर्थतन्त्रको सुधारमा कृषि कम्पनीले बृहत रुपमा काम गर्नुपर्ने अभिमारा रहेको बताए। 

विशिष्ट अतिथि चन्द्रबहादुर बुढाले कम्पनीले क्षेत्र विस्तारका क्रममा पहिलो प्रदेशका रुपमा गण्डकीबाट काम सुरु गरेकोमा धेरैधरै धन्यवाद दिँदै प्रदेश मन्त्रालय निजी क्षेत्रसँग समन्वय गर्नका लागि तयार रहेको र निजी क्षेत्रसँग समन्वय गर्नका लागि नीतिनियममा कठिनाइ रहेको भए त्यसलाई सुधारेर अघि बढ्न सकिने बताए। 

कार्यक्रमका प्रमुख अतिथि पूर्वप्रधानमन्त्री भट्टराईले कम्पनीको ध्येय, लक्ष्य, उद्देश्य र कार्यक्रमहरु एकदमै राम्रो रहेको तर कार्यान्वयनका लागि केही चुनौतीहरु रहेको औँल्याए। उनले भने, ‘यस कम्पनीको कार्यक्रमहरु सफलताका लागि नीतिगत रुपमा नै समग्र संरचनाहरु सुधार्नुपर्ने, कृषिलाई उद्योगसँग जोडनुपर्ने र निजी क्षेत्रलाई प्रोत्साहन गर्ने नीतिनियमहरु बनाउनुपर्छ।’

नेपालले पूर्वी एसियाका देशहरुले कृषिमा मारेको फड्कोको सन्दर्भमा अध्ययन गर्नुपर्ने र त्यसको विकसित मोडल तयार गरेको खण्डमा मात्रसोचेजस्तो विकास गर्न सकिने भट्टराईको भनाइ थियो। 

कार्यक्रम समापन गर्दै कम्पनीका अध्यक्ष ढकालले कृषि क्षेत्रमा धेरै चुनौतिहरु रहेका भए पनि त्यसलाई चिरेर अगाडि बढ्नको लागि मुक्तिनाथ कृषि कम्पनी सक्षम हुने र त्यसका लागि कम्पनीले सोहीअनुसारका योजना तथा कार्यक्रमहरु बनाइरहेको जानकारी दिए। 

यसका साथै कम्पनीले दोस्रो कार्यक्रमका रुपमा सोही मितिमा तेस्रो वार्षिक साधारणसभा पनि सम्पन्न गरेको छ ।