पोखरा । मुक्तिनाथ क्यापिटल लिमिटेडले शाखा विस्तारका क्रममा पोखराको चिप्लेढुंगामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ।
शाखाको उद्घाटन मुक्तिनाथ विकास बैंकका उपभोक्ता बैंकिङ प्रमुख बाबुराम ढकाल र मुक्तिनाथ विकास बैंकका संस्थापक शेयरधनी नवीन ढकालले संयुक्त रुपमा गरेका छन्। उद्घाटन समारोहको मुक्तिनाथ विकास बैंकका चिप्लेढुंगा शाखा प्रमुख रामचन्द्र रानाभाटले सञ्चालन गरेका थिए।
समारोहमा गण्डकी प्रदेश प्रमुख शंकर केसी, सहायक प्रदेश प्रमुख ऋषिराम ढकाल तथा मुक्तिनाथ विकास बैंकका विभिन्न शाखा प्रबन्धकका साथै बैंकका अन्य कर्मचारी तथा लगाानीकर्ताको उपस्थिति थियो।
मुक्तिनाथ क्यापिटल कम्पनी ऐन, २०६३ अन्तर्गत २०६६ माघ २७ गतेका दिन कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता भई स्थापना भएको मुक्तिनाथ विकास बैंक लिमिटेडको सहायक कम्पनी हो। कम्पनीले नेपाल धितोपत्र बोर्डबाट धितोपत्रसम्बन्धी ऐन, २०६३ बमोजिम मर्चेन्ट बैंकिङसम्बन्धी व्यवसाय गर्नका लागि मिति २०६७ साउन १ गतेका दिन स्वीकृति प्राप्त गरी मिति २०६७ साउन १२ गतेदेखि आफ्नो व्यवसायिक कारोबार सञ्चालन गर्दै आइरहेको छ।
मुक्तिनाथ क्यापिटलले मुक्तिनाथ विकास बैंक तथा लुम्बिनी विकास बैंक गरी सम्पूर्ण शाखा कार्यालयबाट करिब १ लाख ३२ हजार सेवाग्राहीलाई निक्षेप सदस्य (डिम्याट खाता) सम्बन्धी सेवा प्रदान गर्दै आइरहेको छ। हालसम्म रु. ५० करोडभन्दा बढी रकमको लगानी ब्यवस्थापन गरी आफ्नो सेवाग्राहीलाई उचित प्रतिफल दिन सफल रहेको छ।
यससँगै क्यापिटलले कुल १४ वटा विभिन्न क्षेत्रका संस्थाहरुको करिब ४ लाख सेयरधनीलाई सेयर रजिस्ट्रारसम्बन्धी सेवा प्रदान गर्दै आइरहेको छ। क्यापिटलले आफ्नो सेवाग्राहीको आवश्यकतालाई मध्यनजर गरी निक्षेप सदस्य, सेयर रजिस्ट्रार, लगानी ब्यवस्थापन, संस्थागत परामर्श, धितोपत्र प्रत्याभूति र निष्कासन तथा बिक्री प्रबन्धसम्बन्धी सेवाहरु काठमाण्डौको नारायणचौर नक्सालस्थित प्रधान कार्यालयबाट दिँदै आइरहेकोमा अबउपरान्त ती सेवाहरु नयाँ शाखा कार्यालयबाट पनि सजिलै प्राप्त गर्न सकिनेछ।
निकट भविष्यमा साना लगानीकर्ता तथा विपन्न वर्गलाई लक्षित गरी मुक्तिनाथ विकास बैंक कोष प्रवर्द्धक रहेको सामूहिक लगानी कोष पनि नेपाली पुँजी बजारमा ल्याउँदैछ।
यसका साथै क्यापिटलले उक्त शाखाको सञ्चालनसँगै चिप्लेढुंगामा आउने ग्राहकका लागि आजीवन डिम्याट खाता तथा मेरो सेयर खाता नवीकरणमा २५ प्रतिशत छुट गरी मात्र रु.१ हजार ४९९ मा र लगानी व्यवस्थापन सेवाको वार्षिक शुल्कमा ५० प्रतिशतसम्म छुटको पनि व्यवस्था गरेको छ। यो योजना चिप्लेढुंगा शाखाका ग्राहकका लागि सीमित अवधिका लागिमात्र रहने क्यापिटलले जनाएको छ।
10 minutes ago
25 minutes ago
47 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
3 hours ago