काठमाण्डौ। ग्लोबल आइएमई बैंक लिमिटेडले नेपाली बैंकमा विदेशी मुद्रामा खाता खोल्ने सुविधा तथा नेपालमा वैदेशिक लगानी विषयमा बेलायतको लन्डनमा सोमबार बृहत अन्तर्क्रिया आयोजना गरेको छ। 

संयुक्त अधिराज्यको लन्डनस्थित बैंकको वैदेशिक प्रतिनिधि कार्यालय र श्रृजनशील लेस्टर नेपाल, युकेद्वारा संयुक्त रुपमा आयोजित उक्त अन्तर्क्रियाा नेपाल राष्ट्र बैंकले विदेशमा रहने नेपालीहरुलाई लक्षित गरी नेपाली बैंकमा विदेशी मुद्रामा खाता खोल्ने सुविधा ल्याएको विषयमा जानकारी दिइएको थियो। 

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालीहरुलाई विदेशी मुद्रामा खाता खोल्ने सुविधा दिएको सम्बन्धमा जानकारी गराए। ‘यसमा नेपाली बैंकमा विदेशी मुद्रामा खाता खोलेर पैसा जम्मा गर्न सकिने, आवश्यक परेको समयमा नेपालबाट पैसा फिर्ता ल्याउन पनि सकिने सुविधा रहेको छ। भिसा कार्ड तथा मास्टर कार्डमार्फत यहाँहरुले विदेशमा खर्च गर्न पनि सक्ने र आवश्यकताअनुसार नेपालमा लगानी गर्न वा घरपरिवारका सदस्यहरुले उक्त बचतलाई नेपालमा नेपाली रुपैयाँमा निकाल्न मिल्ने सुविधा यसमा रहेको छ’, उनले भने। 

नेपालको प्रतिष्ठित व्यावसायिक समूह आइएमई समूहका अध्यक्ष ढकालले आइएमई समूहले नेपाल सरकारको प्राथमिकता र मुलुकको आवश्यकताअनुरुप आफ्ना व्यावसायिक गतिविधिहरु अगाडि बढाउँदै आएको ढकालले बताए। ‘आइएमई रेमिट हामीले सुरु गरेको २२ वर्ष पुगेको छ। विगत २२ वर्षमा आइएमईले नेपालमा औपचारिक माध्यमबाट रेमिट्यान्स भित्र्याउन ठूलो योगदान गरेको छ। हामीले रेमिट्यान्स सेवा सुरुगर्दा मुलुकमा रेमिट्यान्सलाई औपचारिक माध्यमबाट ल्याउन रेमिट कम्पनीको आवश्यकता थियो’, उनले भने, ‘आज आइएमई नाम आफैँमा रेमिटको पर्यावाची बनेको छ। अन्य बैंक तथा रेमिट कम्पनीहरुमा जाने ग्राहकले पनि पैसा पठाउन पर्यो भने आइएमई गरिदिनुस् भन्ने गरेको पाइएको छ।’

त्यसैगरी अहिले मुलुकमा विदेशी मुद्राको सञ्चिति घटेको र रेमिट्यान्सको आप्रवाह पनि घटेको अवस्थामा नेपाली बैंकमा विदेशी मुद्रामा खाता खोल्ने र नेपालमा थप बैदेशिक लगानी भित्र्उनुपर्ने छ, यसमा पनि हामी फ्रन्टलाइनमा रहेर काम गर्न चाहन्छौँ’, उनले भने। 

ढकालले मुलुकको अर्थतन्त्रमा देखिएको संकट टार्न र मुलुकलाई थप आर्थिक संकटबाट मुक्त गर्न सबै नेपालीले भूमिका खेल्नुपर्ने बताए। ‘यसका लागि तपाइँहरुले नेपाली बैंकमा विदेशी मुद्रामा खाता खोलिदिनुपर्यो। नेपालमा थप बैदेशिक लगानी भित्र्याउन सहजीकरण गरिदिनुपरर्यो’, उनले भने। 

गैरआवासीय नेपाली संघसँग आफूहरुको सहकार्य सुरु भइसकेको उल्लेख गर्दै ढकालले गैरआवासीय नेपालीहरुले स्थापना गरेको एनआरएन फन्डबाट लगानी जुटाई लमजुङ जिल्लामा २७ मेगावाटको जलविद्युत आयोजना निर्माण सकिएर टेस्टिङको चरणमा रहेको बताए। 

उक्त अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृति रत्नराज बज्राचार्यले नेपाल राष्ट्र बैंकले ल्याएको विदेशी मुद्रामा खाता खोल्ने प्रावधानबारेमा प्रकाश पारेका थिए। 

कार्यक्रममा श्रृजनशील लेस्टर नेपाल, युकेका पदाधिकारी, गैरआवासीय नेपाली संघका प्रतिनिधि तथा नेपाली समुदायको ठूलो सहभागिता थियो।

यसअघि नेपलिज एकाउन्टेन्स् एशोशिएसन, युकेसँगको अन्तरक्रियामा बैंकका अध्यक्ष ढकालले नेपालमा वैदेशिक लगानीका लागि युकेका व्यवसायी तथा लगानीकर्ताहरुलाई सहजीकरण गर्न एशोशिएसनलाई आग्रह गरे। 

लगानी प्रतिफलको हिसाबले पनि नेपाल लगानीका लागि उपयुक्त मुलुक भएको बताउँदै, उहाँले धेरैभन्दाधेरै बैदेशिक लगानी भित्र्याउन युकेमा रहेका नेपालीहरुले नै भूमिका निभाउनुपर्ने बताए।