काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र सिन्धुली मूलकोटमा रहेको अक्क्षित रिसोर्ट एन्ड र्‍याफिटिङबीच बैंकका ग्राहकलाई रकम भुक्तानी गर्दा अधिकतम २० प्रतिशतसम्म छुट दिने सम्बन्धमा बुधबार सम्झौता भएको छ। 

सम्झौतापत्रमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनाल र रिसोर्टकी प्रोप्राइटर रश्मी बस्नेतबिच हस्ताक्षर भएको छ।  सम्झौताअनुसार राष्ट्रिय वाणिज्य बैंकका ग्राहकले डिजिटल माध्यम (मोबाइल बैंकिङ, एटीएम कार्ड, क्रेडिट कार्ड, कनेक्ट आईपीएस)बाट रकम भुक्तानी गर्दा रिसोर्टले पेय पदार्थमा १० प्रतिशत, खानामा १५ प्रतिशत र कोठामा २० प्रतिशत छुट प्रदान गर्नेछ।

कार्यक्रममा बैंकका विभागीय प्रमुखहरु दुर्गाकुमारी कँडेल र सरोज बस्नेत तथा रिसोर्टका रामप्रसाद नेपाल लगायत कर्मचारीहरुको उपस्थिति थियो।

देशभर बैंककोे हाल २५८ वटा शाखा कार्यालय, २४५ वटा एटीएम, ४३ स्थानमा एक्सटेन्सन काउन्टर, ९८ शाखारहित बैंकिङ सेवासहित आधुनिक डिजिटल बैंकिङका माध्यमबाट सेवा प्रवाह गर्दै आएको छ।