काठमाण्डौ । अरुण काबेली पावर लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ।

नेपाल स्टक एक्चसेन्ज (नेप्से) आर्थिक वर्ष २०७८–७९को बोनस सेयरका लागि अरुण काबेली पावरको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता ३६२.७३ रुपैयाँ कायम गरेको छ। यसअघिको अन्तिम कारोबार मूल्यअनुसार यो कम्पनीको सेयरभाउ प्रतिकित्ता ३९९ रुपैयाँ कायम भएको थियो। अब आउँदो आइतबार यो कम्पनीको सेयर समायोजित मूल्यअनुसार नै कारोबारमा आउनेछ। 

लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले भोलि कात्तिक १८ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आज कात्तिक १७ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य भएका छन्। 

कम्पनी सञ्चालक समितिले उक्त आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापुँजी १ अर्ब ८५ करोड ५२ लाख १० हजार ५०० रुपैयाँको कुल १०.५२६३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। 

प्रस्तावित लाभांशमा १० प्रतिशतले हुन आउने १८ करोड ५५ लाख २१ हजार ५० रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.५२६३ प्रतिशतले हुन आउने १ करोड ५ लाख ६ हजार ५७ रुपैयाँबराबरको नगद लाभांश छन्। 

प्रस्तावित लाभांश पारित गर्न कम्पनीले आउँदो कात्तिक ३० गते आफ्नो १२ औँ वार्षिक साधारणसभा डोकेको छ। सभा नयाँबानेश्वरस्थित अल्फा बिटा कम्प्लेक्समा बिहान ११ बजेबाट सुरु हुनेछ। 

सभाले हाल कायम चुक्तापुँजीको १०० प्रतिशत हकप्रद जारी गर्ने विशेष प्रस्ताव पनि अनुमोदन गर्नेछ। सभाले नयाँ परियोजनामा लगानी गर्ने अर्को विशेष प्रस्ताव पारित गर्नेछ।