काठमाण्डौ । एभरेष्ट बैंक लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ। 

नेपाल स्टक एक्सचेन्ज (नेप्से) गत आर्थिक वर्पको बोनस सेयरका लागि एभरेष्ट बैंकको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता ४७७.७९ रुपैयाँ कायम गरेको छ। यसअघिको अन्तिम कारोबार मूल्यअनुसार प्रतिकित्ता ५३९.९० रुपैयाँ थियो। अब समायोजित मूल्यअनुसार नै यो बैंकको सेयर कारोबारमा आउनेछ। 

लाभांश र सभा प्रयोजनका लागि बैंकले आज मंसिर १३ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ हिजो मंसिर १२ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो बैंकको लाभांश पाउन र सभामा भाग लिन योग्य भएछन्। 

बैंकले आफ्नो २८ औँ वार्षिक साधारणसभा यही मंसिर २६ गते आयोजना गर्ने निर्णय गरेको छ। सभा काठमाण्डौको लैनचौरस्थित लैनचौर ब्यांक्वेटमा बिहान ११ बजेबाट सुरु हुनेछ। 

सभाले आर्थिक वर्ष २०७८–७९ का लागि प्रस्तावित कुल २०.६८ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा १३ प्रतिशत बोनस सेयर र ७.६८ प्रतिशत नगद लाभांश (बोनस सेयरमा लाग्ने करसहित) छन्।

सोही सभाले बैंकको अधिकृत पुँजी १० अर्ब रुपैयाँबाट वृद्धि गरी १५ अर्ब रुपैयाँ पुर्याउने भएकोले सोहीबमोजिम प्रबन्धपत्रमा संशोधन गर्ने विशेष प्रस्ताव अनुमोदन गर्नेछ। 

बैंकले २०६४ असार २० गते २० लाख कित्ता ७ प्रतिशत कन्भर्टेबल प्रिफ्रेन्स सेयर जारी गरेकोमा विवरणपत्रबमोजिम बाँडफाँड गरेको समितिले ३–३ वर्षमा २) प्रतिशत सेयर साधारण सेयरमा परिणत गर्नुपर्ने सर्तबमोजिम २०६७ सालमा प्रथमपटक, २०७० सालमा दोस्रोपटक, २०७३ सालमा तेस्रोपटक, २०७६ सालमा चौथोपटक र २०७९ सालमा अन्तिमपटक साधारण सेयरमा परिणत भएपश्चात पुँजी वृद्धि हुने भएकोले सोहीबमोजिम प्रबन्धपत्रमा संशोधन गर्ने अर्को विशेष प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ। 

सभाले गत आर्थिक वर्षको वार्षिक, आर्थिकलगायतका प्रतिवेदनमा पनि पारित गर्नेछ।