काठमाण्डौ । गत आर्थिक वर्षको बोनस सेयरका लागि रिलायन्स फाइनान्स लिमिटेडको सेयरमूल्य आज समायोजन गरिएको छ। 

नेपाल स्टक एक्सचेन्ज (नेप्से) रिलायन्स फाइनान्सको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता २६२ रुपैयाँ कायम गरेको हो। यसअघिको अन्तिम कारोबार मूल्यअनुसार यो कम्पनीको सेयर प्रतिकित्ता २८८ रुपैयाँ कायम भएको थियो।

कम्पनीले गत आर्थिक वर्षका लागि कुल १०.५३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। जसमा १० प्रतिशतले हुन आउने बोनस सेयर र बाँकी ०.५३ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) रहेका छन्।

प्रस्तावित लाभांश कम्पनीको यही वैशाख २२ गते हुने ११ औँ वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि कार्यान्वयनमा आउनेछ।

लाभांश र सभा प्रयोजनका लागि कम्पनीले आज वैशाख १० गते एक दिनका लागि बुक क्लोज गरेको छ। यसको अर्थ हिजो (वैशाख ९ गते) सम्म कायम सेयरधनीहरुमा सभामा भाग लिन र लाभांश पाउन योग्य भएका छन्।