काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले राधी विद्युत कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन गरेको छ।

नेप्सेले गत आर्थिक वर्षको ३६.५ प्रतिशत बोनस सेयरका लागि राधी विद्युतको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता ८२१ रुपैयाँ कायम गरेको छ। यसअघिको अन्तिम कारोबार मूल्यअनुसार यो कम्पनीको सेयर प्रतिकित्ता १ हजार १२० रुपैयाँ कायम भएको थियो। अब समायोजित मूल्यअनुसार नै कारोबार हुनेछ।

लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि राधी विद्युतले आज असार १५ गतेदेखि असार २९ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ हिजो असार १४ गतेसम्म कायम सेयरधनीहरुमात्र यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य भएका छन्। 

कम्पनीले वार्षिक साधारणसभा यही असार २९ गते आयोजना गर्ने निर्णय गरेको छ। सोही सभाले गत आर्थिक वर्षका लागि घोषणा गरिएको चुक्तापुँजीको ३६.५ प्रतिशतले हुन आउने १७ करोड २८ लाख ४८ हजार १२२.५० रुपैयाँबराबरको बोनस सेयर (करबाहेक) अनुमोदन गर्नेछ। कम्पनीको चुक्तापुँजी ४७ करोड ३५ लाख ५६ हजार ५०० रुपैयाँ रहेको छ।

सभाले बोनस सेयर जारीपछि कायम हुने चुक्तापुँजीको १४७.५२ प्रतिशत (१ः१.४७५२ अनुपात) हकप्रद सेयर जारी गर्ने र सो सम्बन्धमा आवश्यक कार्यका लागि सञ्चालक समितिलाई अख्तियारी प्रत्यायोजन गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ।