काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ङादी ग्रुप पावर र अपी पावर कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन गरेको छ। 

नेप्से गत आर्थिक वर्षको बोनस सेयरका लागि यी दुवै कम्पनीको सेयरमूल्य समायोजन गरेको हो। समायोजित मूल्यअनुसार प्रतिकित्ता ङादी पावरको ८०७.५ रुपैयाँ र अपी पावरको ४७८.७३ रुपैयाँ कायम भएको छ। यसअघिको अन्तिम कारोबार मूल्यअनुसार प्रतिकित्ता ङादीको ९६९ रुपैयाँ र अपी पावरको ५२९ रुपैयाँ रहेको थियो। अब समायोजित मूल्यअनुसार नै दुवै कम्पनीको सेयर कारोबारमा आउनेछ।

ङादीले लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि आज भदौ १८ गते एक दिनका लागि बुक क्लोज गरेको छ। यसको अर्थ हिजो भदौ १८ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

ङादीले आउँदो असोज ३ गते आठौँ वार्षिक साधारणसभा आयोजना गर्दैछ। सोही सभाले आर्थिक वर्ष २०७७/८८ का लागि प्रस्तावित लाभांश कुल २१.०५ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा २० प्रतिशतले हुन आउने ११ करोड ७८ लाख २२ हजार ६० रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ १.०५ प्रतिशतले हुन आउने ६२ लाख १ हजार १६१.०५ रुपैयाँबराबरको नगद लाभांश रहेका छन्। 

सभाले २० प्रतिशत बोनस सेयर वितरणपछि कायम हुने चुक्तापुँजी ७० करोड ६९ लाख ३२ हजार ३६० रुपैयाँबराबरको १ः२ प्रतिशत अर्थात २०० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि पारित गर्नेछ। 

बोनस तथा हकप्रद सेयर जारीपश्चात पुँजी वृद्धि गर्न प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ। 

यसैगरी अपी पावरले लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ आज भदौ १८ गतेदेखि भदौ २४ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ हिजो भदौ १७ गतेसम्म कायम सेयरधनीहरुमात्र यो कम्पनीको लाभांश पाउन र वार्षिक साधारणसभामा भाग लिन योग्य भएका छन्। 

अपी पावरको सञ्चालक समितिले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई चुक्तापुँजीको ११.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। प्रस्तावित लाभांशमा १०.५ प्रतिशत बोनस सेयर र बाँकी ०.५५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) रहेका छन्। 

त्यस्तै सञ्चालक समितिले बोनस सेयर वितरणपछि कायम हुने चुक्तापुँजीको २७५.८९ करोड रुपैयाँको १ः०.३९३६ प्रतिशत अनुपातमा हुन आउने १०८.६ करोड रुपैयाँबराबरको हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पनि गरेको छ। 

यी दुवै प्रस्ताव कम्पनीको यही भदौ २५ गते १८ औँ वार्षिक साधारणसभाले अनुमोदन गर्नेछ। सोही सभाले हकप्रदबाट प्राप्त हुने रकम कम्पनीले निर्माण गरिरहेको ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत आयोजनामा थप लगानी गरिने प्रस्ताव पनि पारित गर्नेछ।