काठमाण्डौ । गत आर्थिक वर्षको बोनस सेयरका लागि नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले रुरु जलविद्युत परियोजना लिमिटेडको सेयरमूल्य समायोजन गरेको छ।

नेप्से रुरु जलविद्युतको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता १ हजार २०६ रुपैयाँ कायम गरेको हो। यसअघिको अन्तिम कारोबार मूल्यअनुसार प्रतिकित्ता १ हजार ३२७ रुपैयाा रहेको थियो। अब समायोजित मूल्यअनुसार नै सेयर कारोबारमा आउनेछ। 

कम्पनीले आर्थिक वर्ष २०७६/७७ र २०७७/७८ का लागि प्रस्तावित लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि आज असोज ७ गते एक दिनका लागि बुक क्लोज गरेको छ। यसको अर्थ हिजो असोज ६ गतेसम्म कायम सेयरधनीमात्र यी दुवै आर्थिक वर्षका लागि प्रस्तावित लाभांश पाउन र सभामा भाग लिन योग्य भएका छन्। 

कम्पनीले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट चुक्तापुँजीको १०.५२६३ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ। 

यसैगरी कम्पनीले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट चुक्तापुँजीको १० प्रतिशतले हुन आउने बोनस सेयर र कर प्रयोजनार्थ ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

यी दुवै आर्थिक वर्षको लाभांश अनुमोदन गर्न कम्पनीले यही असोज १६ गते १५ औँ र १६ औँ वार्षिक साधारणसभा एकैदिन डाकेको छ। सभा कम्पनीको काठमाण्डौ हात्तीसारस्थित रजिस्टर्ड कार्यालयमा बिहान ११ बजेदेखि भर्चुअल माध्यमबाट हुनेछ।