काठमाण्डौ । गुराँस लाइफ इन्स्योरेन्सको सेयरमूल्य समायोजन गरिएको छ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले बोनस सेयरका लागि गुराँस लाइफको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता ६१८.०१ रुपैयाँ कायम गरेको हो। यसअघिको अन्तिम कारोबार मूल्यअनुसार यो कम्पनीको प्रतिकित्ता सेयर ६५२ रुपैयाँ रहेको थियो। अब समायोजित मूल्यअनुसार नै यो कम्पनीको सेयर कारोबारमा आउनेछ।

गुराँस लाइफले आर्थि वर्ष २०७५/७६ का लागि कुल ५.७८९९ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। जसमा ५.५ प्रतिशत बोनस र ०.२८९ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) रहेका छन्।

प्रस्तावित लाभांश कम्पनीको आउँदो मंसिर १० गते हुने ११ औँ वार्षिक साधारणसभाले अनुमोदन गरेपछि कार्यान्वयनमा आउनेछ। 

लाभांश र सभा प्रयोजनका लागि कम्पनीले आज कात्तिक २३ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ हिजो कात्तिक २२ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य भएका छन्।