काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले तीन कम्पनीको सेयरमूल्य समायोजन गरेको छ।

नेप्सेले गत आर्थिक वर्षको बोनस सेयरका लागि लक्ष्मी बैंक र समता घरेलु लघुवित्त तथा हकप्रद सेयरका लागि नारायणी डेभलपमेन्ट बैंकको सेयरमूल्य समायोजन गरेको हो। समायोजित मूल्यअनुसार प्रतिकित्ता लक्ष्मी बैंकको २७०.३७ रुपैयाँ, समता घरेलु लघुवित्तको ११२५.८३ रुपैयाँ र नारायणी डेभलपमेन्ट बैंकको ४७८ रुपैयाँ कायम भएको छ। यसअघिको अन्तिम कारोबार मूल्यअनुसार प्रतिकित्ता लक्ष्मीको २९२ रुपैयाँ, समता घरेलु लघुवित्तको १३५१ रुपैयाँ र नारायणी डेभलपमेन्ट बैंकको ८५६ रुपैयाँ रहेको थियो। अब समायोजित मूल्यअनुसार नै यी तीनै कम्पनीको सेयर कारोबारमा आउनेछन्।

वार्षिक साधारणसभा र लाभांश वितरण प्रयोजनार्थ लक्ष्मी बैंक र समता घरेलु लघुवित्त तथा हकप्रद सेयर निष्कासन प्रयोजनार्थ नारायणी डेभलपमेन्ट बैंकले आज मंसिर २४ गते बुक क्लोज गर्ने निर्णय गरेका छन्। यसको हिजो मंसिर २३ गतेसम्म कायम सेयरधनीहरुमात्रै लक्ष्मी बैंक र समता घरेलु लघुवित्तको लाभांश पाउन र सभामा भाग लिन तथा नारायणी डेभलपमेन्ट बैंकको हकप्रद सेयरमा आवेदन दिन योग्य भएका छन्। 

लक्ष्मी बैंकले गत आर्थिक वर्षका लागि कुल ११.५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। जसमा ८ प्रतिशत बोनस सेयर र ३.५ प्रतिशत नगद लाभांश (करसहित) रहेका छन्।

बैंकको आउँदो पुस ८ गते हुने २१ औँ वार्षिक साधारणसभाले लाभांश अनुमोदन गरेपछि कार्यान्वयनमा आउनेछ।

यसैगरी समता लघुवित्तले गत आर्थिक वर्षका लागि कुल २५ प्रतिशत लाभांश घोषणा गरेको छ। जसमा २० प्रतिशत बोनस र ५ प्रतिशत नगद (करसहित) रहेका छन्।

यो लाभांश संस्थाको आउँदो पुस ७ गते हुने ८ औँ वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीहरुले पाउनेछन्।

नारायणी डेभलपमेन्ट बैंकले आउँदो पुस ७ गतेबाट १ः१ अनुपातमा हकप्रद निष्कासन गर्दैछ। जसअनुसार बैंकले १०० अंकित दरका कुल १३ लाख १२ हजार ३३८ कित्ता हकप्रद जारी गर्नेछ। यो हकप्रदमा नेपाल धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त सि–आस्बामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखाहरुबाट आवेदन दिन सकिनेछ। सीडीएससीको मेरो सेयरबाट आवेदन दिन मिल्छ। 

हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। सेयरधनीहरुले यस हकप्रदमा पुस २७ गतेसम्म आवेदन दिन पाउनेछन्।

नारायणी डेभलपमेन्ट बैंकलाई नेपाल धितोपत्र बोर्डले गत मंसिर ३ गते हकप्रद निष्कासनको अनुमति दिएको थियो।