काठमाण्डौ । गत आर्थिक वर्षको बोनस सेयरका लागि ३ लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य समायोजन गरिएको छ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सपोर्ट, सूर्योदय र वोमी लघुवित्त सेयरमूल्य समायोजन गरेको हो। सयमोजित मूल्यअनुसार प्रतिकित्ता सपोर्टको १७६९.२३ रुपैयाँ, सूर्योदयको १४२७.५० रुपैयाँ र वोमी लघुवित्तको १३४०.८३ रुपैयाँ कायम भएको छ। यसअघिको अन्तिम कारोबार मूल्यअनुसार प्रतिकित्ता सपोर्टको २३०० रुपैयाँ, सूर्योदयको १७१३ रुपैयाँ र वोमीको १६०९ रुपैयाँ रहेको थियो। अब समायोजित मूल्यअनुसार यी तीनै लघुवित्तको सेयर कारोबारमा आउनेछन्।

सपोर्टले गत आर्थिक वर्षका लागि कुल ३१.५७८९ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। जसमा ३० प्रतिशत बोनस र १.५७८९ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) रहेका छन्।

सपोर्टको प्रस्तावित लाभांश यही पुस १० गते हुने सातौँ वार्षिक साधारणसभाले पारित गरेपछि कार्यान्वयनमा आउनेछ। 

यसैगरी सूर्योदय र वोमीले भने गत आर्थिक वर्षका लागि २०÷२० प्रतिशत बोनस सेयर प्रस्ताव गरेका छन्। 

सूर्योदय र वोमीले यही पुस १६ गते आआफ्नो वार्षिक साधारणसभा डोकेका छन्। यी दुवैको सभाबाट लाभांश पारित भएपछि कार्यान्वयनमा आउनेछ। सोही सभाले यी दुवै लघुवित्तबीचको मर्जरलाई पनि अनुमोदन गर्नेछ। 

लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि यी तीनै लघुवित्तले आज पुस १ गते बुक क्लोज गर्ने निर्णय गरेका छन्। यसको अर्थ मंसिर २९ गतेसम्म कायम सेयरधनीहरुमात्रै यी लुघवित्तको लाभांश पाउन र सभामा भाग लिन योग्य भएका छन्।