काठमाण्डौ । आर्थिक वर्ष २०७७/७८ को बोनस सेयरका लागि साना किसान विकास लघुवित्त र हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) को सेयरमूल्य समायोजन गरिएको छ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता साना किसानको ११७६ रुपैयाँ र एचआईडीसीएलको २४८.३३ रुपैयाँ कायम गरेको छ। यसअघिको अन्तिम कारोबार मूल्यअनुसार प्रतिकित्ता साना किसानको १४७० रुपैयाँ र एचआईडीसीएलको २६८.२० रुपैयाँ रहेको थियो। अब समायोजित मूल्यअनुसार नै यी दुवै कम्पनीको सेयर कारोबारमा आउनेछन्।

लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि यी दुवैले आज पुस ५ गते बुक क्लोज गरेका छन्। यसको अर्थ गत पुस १ गतेसम्म कायम सेयरधनीहरुमात्रै यी दुवै कम्पनीको लाभांश पाउन र सभा भाग लिन योग्य भएका छन्।

साना किसानले गत आर्थिक वर्षका लागि कुल २६.३१५७ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। जसमा २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १.३१५७ प्रतिशत नगद लाभांश छन्। 

प्रस्तावित लाभांश साना किसानको यही पुस १८ गते हुने २० औँ वार्षिक साधारणसभाले अनुमोदन गरेपछि कार्यान्वयनमा आउनेछ।

यसैगरी एचआईडीसीएलले गत आर्थिक वर्षका लागि कुल ८.४२१ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। जसमा ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.४२१ प्रतिशत नगद लाभांश छन्।

प्रस्तावित लाभांश कम्पनीको यही पुस २२ गते हुने १० औँ वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीहरुले पाउनेछन्।