काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले बोनस सेयरका लागि महुली सामुदायिक लघुवित्त, डिप्रोक्स लघुवित्त र सांग्रिला डेभलपमेन्ट बैंकको मूल्य समायोजन गरेको छ। 

नेप्सेले सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता महुली सामुदायिक को २ हजार १८८ रुपैयाँ, डिप्रोक्सको १ हजार ७२० रुपैयाँ र सांग्रिलाको २०२ रुपैयाँ कायम गरेको छ। यसअघिको अन्तिम कारोबार मूल्यअनुसार यी तीनै संस्थाको प्रतिकित्ता क्रमशः २ हजार ६२५ रुपैयाँ, १ हजार ९७८ रुपैयाँ र २१२ रुपैयाँ रहेको थियो। अब समायोजित मूल्यअनुसार नै यी तीनै संस्थाको सेयर कारोबारमा आउनेछ। 

डिप्रोक्स लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट कुल २० प्रतिशत लाभांश प्रस्ताव गरेको छ। जसमा १५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश रहेको छ। प्रस्ताव लाभांश संस्थाको यही चैत २० गते हुने १९ औँ वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि कार्यान्वयनमा आउनेछ।

त्यस्तै महुली लघुवित्तले कुल २१.०५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। जसमा २० प्रतिशत बोनस सेयर र १.०५ नगद (कर प्रयोजनका लागि) रहेको छ। प्रस्तावित यो लाभांश संस्थाको यही चैत २५ गते हुने आठौँ वार्षिक साधारणसभाबाट पारित हुनेछ।
उता सांग्रिला डेभलपमेन्ट बैंकले कुल ५.२६३२ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। जसमा ५ प्रतिशत बोनस सेयर र ०.२६३२ प्रतिशत नगद (कर प्रयोजनार्थ) छन्। प्रस्तावित लाभांश बैंकको यही चैत २३ गते हुने १६ औँ वार्षिक साधारणसभाबाट पारित अनुमोदन हुनेछ। 

यी तीनै वित्तीय संस्थाले आज (चैत १० गते) बुक क्लोज गर्ने निर्णय गरेका छन्। यसको अर्थ हिजो (चैत ९ गते)सम्म कायम सेयरधनीहरुमा यी तीनै संस्थाका प्रस्तावित लाभांश पाउन र सभामा भाग लिन योग्य भएका छन्।