काठमाण्डौ । गत आर्थिक वर्षको बोनस सेयरका लागि सिद्धार्थ बैंकसहित ३ कम्पनीको सेयरमूल्य समायोजन गरिएको छ। 

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सिद्धार्थ बैंक, आरएमडीसी लघुवित्त र सेन्ट्रल फाइनान्सको सेयरमूल्यमा समायोजन गरेको हो। मूल्य समायोजनअनुसार प्रतिकित्ता सिद्धार्थ बैंकको ४०६.१३.३३ रुपैयाँ, आरएमसीडी लघुवित्तको ११४३.३३ रुपैयाँ र सेन्ट्रल फाइनान्सको ३८२.०८ रुपैयाँ कायम भएको छ। यसअघिको अन्तिम कारोबार मूल्यअनुसार प्रतिकित्ता सिद्धार्थ बैंकको ४६४ रुपैयाँ, आरएमसीडी लघुवित्तको १३७२ रुपैयाँ र सेन्ट्रल फाइनान्सको ४११.५० रुपैयाँ कायम भएको थियो। अब समायोजित मूल्यअनुसार यी कम्पनीका सेयर कारोबारमा आउनेछ। 

यी सबै कम्पनीले लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि आज पुस १८ गते बुक क्लोज गरेका छन्। यसको अर्थ पुस १४ गते (पुस १५ गते सार्वजनिक बिदा, पुस १६ गते शुक्रबार र पुस १७ गते शनिबार) सम्म कायम सेयरधनीहरुमात्रै यी कम्पनीहरुको लाभांश पाउन र सभामा भाग लिन योग्य भएका छन्।

सिद्धार्थ बैंकले कुल १५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। जसमा १४.२५ प्रतिशत बोनस र ०.७५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) छन्। प्रस्तावित लाभांश बैंक यही पुस ३० हुने २० औँ वार्षिक साधारणसभाले पारित गरेपछि कार्यान्वयनमा आउनेछ। 

आरएमडीसीले कुल २५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। जसमा २० प्रतिशत बोनस र करसहित ५ प्रतिशत नगद लाभांश छन्। प्रस्तावित लाभांश बैंकको यही पुस ३० गते हुने २३ औँ वार्षिक साधारणसभाले अनुमोदन गरेपछि कार्यान्वयनमा आउनेछ।

सेन्ट्रल फाइनान्सले ७.७ प्रतिशत बोनस सेयर ३.३ प्रतिशत नगद लाभांश (करसहित) गरी कुल ११ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। यो लाभांश कम्पनीको यही पुस ३० गते हुने २५ औँ वार्षिक साधारणसभाले पारित गर्नेछ।