काठमाण्डौ । हकप्रद सेयर निष्कासन प्रयोजनार्थ नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरमूल्य समायोजन गरेको छ। 

नेप्सेले सेयरमूल्य समायोजन गर्दै यो बैंकको प्रतिकित्ता ४५४.८० रुपैयाँ कायम गरेको छ। यसअघिको अन्तिम कारोबार मूल्यअनुसार प्रतिकित्ता ९८७ रुपैयाँ रहेको थियो। अब समायोजित मूल्यअनुसार यो बैंकको सेयर कारोबारमा आउनेछ। 

हकप्रद निष्कासन प्रयोजनार्थ कर्पोरेट डेभलपमेन्ट बैंकले आज पुस २६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ हिजो पुस २५ गतेसम्म कायम सेयरधनीहरु यो बैंकको हकप्रद सेयरमा आवेदन दिन योग्य भएका छन्। 

बैंकले आउँदो माघ ७ गतेबाट चुक्तापुँजीको १५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्दैछ। बैंकले चुक्तापुँजी २० करोड रुपैयाँको १ः.१.५ अनुपातमा हकप्रद जारी गर्ने भएको छ। बैंकले १०० रुपैयाँ अंकित दरका कुल ३० लाख कित्ता हकप्रद जारी गर्नेछ। 

यो हकप्रदमा सेयरधनीहरुले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्। मेरो सेयर पोर्टलबाट यो हकप्रदमा आवेदन दिन पाइनेछ। 

हकप्रद बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ।

यो हकप्रदलाई नेपाल धितोपत्र बोर्डले गत पुस १ गते निष्कासन अनुमति दिएको थियो।