काठमाण्डौ । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले नेशनल माइक्रोफाइनान्सको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता २६१४.२९ रुपैयाँ कायम गरेको हो। यसअघिको अन्तिम कारोबार मूल्यअनुसार यो लघुवित्तको प्रतिकित्ता ३६६० रुपैयाँ कायम भएको थियो। अब समायोजित मूल्यअनुसार नै यो कम्पनीको सेयर कारोबारमा आउनेछ।

लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि नेशनल माइक्रोफाइनान्सले आज पुस २७ गते बुक क्लोज गरेको छ। यसको अर्थ हिजो पुस २६ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो संस्थाको लाभांश पाउन र सभामा भाग लिन योग्य भएका छन्। 

संस्थाले गत आर्थिक वर्षका लागि चुक्तापुँजीको कुल ४५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। जसमा ४० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश (करसहित) रहेका छन्। 

प्रस्तावित लाभांश संस्थाको आउँदो माघ ६ गते हुने आठौँ वार्षिक साधारणसभाले अनुमोदन गरेपछि कार्यान्वयनमा आउनेछ।