काठमाण्डौ । बोनस सेयरका लागि दुई जीवन बीमा कम्पनीसहित तीन कम्पनीको सेयरमूल्य समायोजन गरिएको छ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले लाइफ इन्स्योरेन्स कर्पोरेसन–एलआईसी (नेपाल), ज्योति लाइफ इन्स्योरेन्स र जानकी फाइनान्सको सेयरमूल्यमा समायोजन गरेको हो। समायोजित मूल्यअनुसार प्रतिकित्ता एलआईसीको १९४३.३३ रुपैयाँ, ज्योति लाइफको ६५० रुपैयाँ र जानकी फाइनान्सको ५८८.७८ रुपैयाँ कायम भएको छ। 

यसअघिको अन्तिम कारोबार मूल्यअनुसार प्रतिकित्ता एलआईसीको २३३२ रुपैयाँ, ज्योति लाइफको ७१५ रुपैयाँ र जानकी फाइनान्सको ६७७.१० रुपैयाँ कायम भएको थियो। अब समायोजित मूल्यअनुसार यी कम्पनीको सेयर कारोबारमा आउनेछन्। 

लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ यी तीनै कम्पनीले आज माघ २४ गते बुक क्लोज गरेका छन्। यसको अर्थ हिजो मा २३ गतेसम्म कायम सेयरधनीहरुमात्रै यी कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य भएका छन्। 

एलआईसीले आफ्नो १९ औँ वार्षिक साधारणसभा आउँदो फागुन ११ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको नक्सालस्थित एलआईसी शिक्षालय हलमा बिहान १०ः१५ बजेबाट भर्चुअल माध्यमबाट हुनेछ। 

सभाले आर्थिक वर्ष २०७६/७७ का लागि प्रस्तावित कुल २१.०५ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा २० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १.०५ प्रतिशत नगद लाभांश छन्।

सोही सभाले संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको १० प्रतिशत संस्थापक सेयरलाई सर्वसाधारण सेयरमा परिवर्तन गर्ने र सोहीअनुसार प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ। 

सभाले उक्त आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनलगायतका महत्वपूर्ण दस्तावेजहरु पनि अनुमोदन गर्नेछ। 

त्यस्तै ज्योति लाइफ इन्स्योरेन्सले आफ्नो चौथो वार्षिक साधारणसभा आउँदो फागुन ६ गते आयोजना गर्ने निर्णय गरेको छ। सभा पोखराको लेकसाइडस्थित वाटरफ्रन्ट रिसोर्टमा बिहान ११ बजेबाट हुनेछ।

सभाले आर्थिक वर्ष २०७६/७७ का लागि प्रस्तावित कुल १०.५२६३ प्रतिशत नगद लाभांश अनुमोदन गर्नेछ। जसमा १० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.५२६३ प्रतिशत नगद लाभांश छन्।

सभाले बोनस सेयर जारीपछि चुक्तापुँजी २ अर्ब ४२ करोड पुग्ने भएकोले सोहीअनुसार प्रबन्धपत्रमा संशोधन गर्ने अर्को विशेष प्रस्ताव पनि अनुमोदन गर्नेछ। 

सभाले सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने संस्थापक सेयरधनी समूहबाट ४ जना र सर्वसाधारण सेयरधनी समूहबाट २ जनाको चयन गर्नेछ। 

सभाले आर्थिक वर्ष २०७६÷७७ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनलगायतका महत्वपूर्ण दस्तावहरुले छलफल गरी पारित गर्नेछ। 

यसैगरी जानकी फाइनान्सले फागुन ७ गते आफ्नो २५ औँ वार्षिक साधारणसभा आयोजना गर्ने निर्णय गरेको छ। सभा जनकपुरधामको शिवचौकस्थित होटेल मानकी इन्टरनेसनलमा बिहान १० बजेबाट सुरु हुनेछ।

सभाले आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्तावित कुल १५.७८९५ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.७८९५ प्रतिशत नगद लाभांश छन्। 

बोनस सेयर जारीपछि चुक्तापुँजी र जारी पुँजी सोहीअनुसार संस्थाको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ। 

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन पारित गर्नेछ।