काठमाण्डौ । गत आर्थिक वर्षको लाभांश प्रयोजनका लागि नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले आज ३ कम्पनीको सेयरमूल्य समायोजन गरेको छ।

नेप्सेले नेपाल इन्स्योरेन्स, ग्रीन डेभलपमेन्ट बैंक र मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य समायोजन गरेको छ। समायोजित मूल्यअनुसार प्रतिकित्ता नेपाल इन्स्योरेन्सको ७८१, ग्रीन डेभलपमेन्ट बैंकको १६९ रुपैयाँ र मिथिला लघुवित्तको १ हजार ६४२ रुपैयाँ कायम भएको छ। यसअघिको अन्तिम कारोबार मूल्यअनुसार यी ३ कम्पनीका सेयरमूल्य प्रतिकित्ता क्रमशः ७८१ रुपैयाँ, १७५ रुपैयाँ र १ हजार ८३९ रुपैयाँ रहेको थियो। अब समायोजित मूल्यअनुसार यी ३ वटै कम्पनीको सेयर कारोबारमा आउनेछ। 

लाभांश र साधारणसभा प्रयोजनका लागि नेपाल इन्स्यारेन्स, ग्रीन डेभलपमेन्ट बैंक र मिथिला लघुवित्तले आज चैत १७ गतेबाट बुक क्लोज गरेका छन्। यसको अर्थ हिजो चैत १६ गतेसम्म कायम सेयरधनीहरुमात्र यी कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य भएका छन्।

नेपाल इन्स्योरेन्सले कुल १० प्रतिशत लाभांश प्रस्ताव गरेको छ। जसमा ८ प्रतिशत बोनस र २ प्रतिशत नगद लाभांश रहेका छन्। यो लाभांश कम्पनीको यही चैत २७ गते ७२ औँ वार्षिक साधारणसभाबाट अनुमोदन हुनेछ। 

त्यस्तै ग्रीन डेभलपमेन्ट बैंकले कुल ४ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। प्रस्तावित लाभांश ३.८ प्रतिशत बोनस र ०.२ प्रतिशत नगद रहेका छन्। प्रस्तावित लाभांश बैंकको यही चैत २८ गते हुने आठौँ वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि कार्यान्वयनमा आउनेछ।

उता मिथिला लघुवित्तले १२ प्रतिशत बोनस र ०.६३ प्रतिशत नगद गरी कुल १२.६३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। यो लाभांश संस्थाको यही चैत २९ गते हुने १२ औँ वार्षिक साधारणसभाबाट पारित हुनेछ।