काठमाण्डौ । गत आर्थिक वर्षका लागि प्रस्तावित बोनस सेयरका लागि नेप्सेमा सूचीकृत दुई लघुवित्त संस्थाको सेयरमूल्य आज बुधबार समायोजन गरिएको छ। 

नेप्सेले उन्नति सहकार्य र आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य समायोजन गरेको छ। समायोजित मूल्यअनुसार प्रतिकित्ता उन्नति सहकार्यको २ हजार ३१७ रुपैयाँ र आरम्भ चौतारीको १ हजार ५२५ रुपैयाँ कायम भएको छ। यसअघिको अन्तिम कारोबार मूल्यअनुसार प्रतिकित्ता उन्नति सहकार्यको २ हजार ७३० रुपैयाँ र आरम्भ चौतारीको १ हजार ६६० रुपैयाँ रहेको थियो। अब समायोजित मूल्यअनुसार नै यी दुवै लघुवित्तको सेयरका कारोबारमा आउनेछन्। 

यी दुवै लघुवित्तले लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि आज चैत १८ गते बुक क्लोज गर्ने निर्णय गरेका छन्। यसको अर्थ हिजो चैत १७ गतेसम्म कायम सेयरधनीहरुमात्र यी दुवै लघुवित्तको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

उन्नति सहकार्यले गत आर्थिक वर्षका लागि  १७.८१ प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव गरेको छ। प्रस्तावित बोनस सेयर संस्थाको यही चैत ३१ गते हुने छैटौँ वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि कार्यान्वयनमा आउनेछ।

यसैगरी आरम्भ चौतारीले कुल ८.८५ प्रतिशत बोनस सेयर प्रस्ताव गरेको छ। प्रस्तावित बोनस सेयर संस्थाको यही चैत ३१ गते हुने पाँचौँ वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीहरुले पाउनेछन्।