काठमाण्डौ । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले बोनस सेयरका लागि मूल्य समायोजन गर्दै सगरमाथा इन्स्योरेन्सको प्रतिकित्ता १०७९.१७ रुपैयाँ कायम गरेको छ। यसअघिको अन्तिम कारोबार मूल्यअनुसार प्रतिकित्ता १२९५ रुपैयाँ रहेको थियो। अब समायोजित मूल्यअनुसार नै यो कम्पनीको सेयर कारोबारमा आउनेछ। 

लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि कम्पनीले आज वैशाख १६ गतेदेखि वैशाख २८ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ हिजो वैशाख १५ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य भएका छन्। 

कम्पनीले आफ्नो २५ औँ वार्षिक साधारणसभा यही वैशाख २८ गते आयोजना गर्दैछ। सभा काठमाण्डौको लैनचौरस्थित लैनचौर बैंक्वेटमा बिहान १० बजेबाट हुनेछ।

सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित कुल २१.०५२६३ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा २० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १.०५२६३ प्रतिशत नगद लाभांश छन्। 

सभाले चुक्तापुँजी वृद्धि गरी ५ अर्ब रुपैयाँ पुर्याउने विशेष प्रस्ताव अनुमोदन गर्नेछ। निर्जीवन बीमा व्यवसाय गर्ने उपयुक्त कम्पनीसँग गाभ्ने, गाभिने वा प्राप्ति गर्नेसम्बन्धी सञ्चालक समितिलाई दिइएको सम्पूर्ण कार्य गर्ने अधिकारलाई निरन्तरता दिने विशेष प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ।