काठमाण्डौ । गत आर्थिक वर्षको बोनस सेयरका लागि नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूर्योदय लघुवित्त र सारथी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको आज बिहीबार सेयरमूल्य समायोजन गरिएको छ।

नेप्सेले सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता सूर्योदयको १ हजार ९६० रुपैयाँ र सारथी नेपालको १ हजार ५९६ रुपैयाँ कायम गरेको छ। यसअघिको अन्तिम कारोबार मूल्यअनुसार सूर्योदयको २ हजार २६१ रुपैयाँ र सारथी नेपालको १ हजार ७२६ रुपैयाँ रहेको थियो। 

यी दुवै लघुवित्तले लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि आज चैत १९ गते बुक क्लोज गर्ने निर्णय गरेका छन्। यसको अर्थ हिजो चैत १८ गतेसम्म कायम सेयरधनीहरुले मात्रै यी दुवै लघुवित्तले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्। 

सूर्योदय लघुवित्तले गत आर्थिक वर्षका लागि कुल १६.१५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। जसमा १५.३४ प्रतिशत बोनस सेयर र ०.८ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) रहेका छन्। प्रस्तावित लाभांश संस्थाको यही चैत ३१ गते हुने आठौँ वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि कार्यान्वयनमा आउनेछ।

यसैगरी सारथी नेपाल लघुवित्तले कुल ८.५५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। जसमा ८.१३ प्रतिशत बोनस सेयर र ०.४२ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) रहेका छन्। प्रस्तावित लाभांश संस्थाको आउँदो वैशाख ३ गते हुने १२ औँ वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीहरुले पाउनेछन्।