काठमाण्डौ । राधी विद्युत कम्पनीले सेयरमूल्य समायोजन गरिएको छ। 

नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले हकप्रद सेयर निष्कासन प्रयोजनार्थ राधी विद्युतको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता २८१.४० रुपैयाँ कायम गरेको हो। यसअघिको अन्तिम कारोबार मूल्यअनुसार राधी विद्युतको प्रतिकित्ता ५४९ रुपैयाँ थियो। अब समायोजित मूल्यअनुसार यो कम्पनीको सेयर कारोबारमा आउनेछ।

हकप्रद निष्कासन प्रयोजनार्थ कम्पनीले आज भदौ १२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ गत शुक्रबार भदौ १० गते (भदौ ११ गते शनिबार)सम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको हकप्रद भर्न योग्य भएका छन्। 

नेपाल धितोपत्र बोर्ड (सेबोन)ले गत साउन ९ गते राधी विद्युतलाई चुक्तापुँजीको १ः१.४७५२ अनुपातमा हकप्रद निष्कासनको अनुमति दिएको हो। राधी विद्युतले ९५ करोड ३५ लाख ७६ हजार ९९ रुपैयाँबराबरको हकप्रद निष्कासन गर्नेछ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ९५ लाख ३५ हजार ७६०.९९ कित्ता हकप्रद आफ्ना सेयरधनीहरुका लागि जारी गर्नेछ। 

राधी विद्युत कम्पनीको हकप्रद बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।